जनकपुर– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले विद्यालयभित्र सबै किसिमका बालबालिका अटाउन सकेमात्रै पूर्ण भर्नायुक्त नगर घोषणा कार्यक्रम सफल हुने बताएका छन्।
महोत्तरीको बर्दिबासमा शनिबार नगरपालिकाले आयोजना गरेको पूर्ण विद्यालययुक्त नगर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपाङ्गता भई विद्यालय आउन नसकेका बालबालिकालाई विशेष शिक्षाको व्यवस्था गरिनुपर्ने कुरामा जोड दिए।
उनले आफू १ वर्षअघि मन्त्री पद सम्हालिरहँदा ३ लाख १३ हजार बालबालिकालाई गणतन्त्र, प्रजातन्त्र र संघीयताले पनि नछोएको हुँदा तिनलाई शिक्षाको दायरामा ल्याउन विद्यालय भर्नालाई अभियान कै रुपमा सञ्चालन गरेको बताए।
उनले विद्यालय भर्ना अभियानको पहिलो चरणमै २ लाख ५४ हजार बालबालिकालाई विद्यालय पठाउन सफल भएको जिकिर गरे। मन्त्री पोखरेलले पहिलो चरणको भर्ना अभियानबाट विद्यालय भित्र्याउन नसकिएका ५९ हजार ७ सय ३३ बालबालिकालाई लक्षित गरी नयाँ कार्यक्रम सुरु गर्ने प्रस्ताव मन्त्रीपरिषद्मामा लगेको जानकारी समेत दिए।
उनले घर–घरमा पुगेर सर्वेक्षण गरी अपाङ्गता भएका बालबालिकाहरुलाई अपाङ्गताको प्रकृति हेरी स्रोत कक्षा सञ्चालन भएका नजिकका विद्यालयमा भर्ना गरिनुपर्ने कुरामा जोड दिँदै बर्दिबासमा स्वयंसेवक परिचालन गरी विशेष अभियान सञ्चालन गर्ने बताए।
आउँदो वर्ष विशेष कार्यक्रम तयार गरी देशभित्र रहेका सबै बालबालिकालाई विद्यालय भित्र ल्याउनुपर्ने कुरा प्रष्ट पारे। यसका लागि सामुदायिक विद्यालयहरुको स्तरोन्नतीसँगै बृहत सम्मेलन गर्ने उद्धघोष गरे।
मन्त्री पोखरेलले नेपाललाई साक्षर नेपाल घोषणा गरी शिक्षित नेपाल बनाउन जोडदार रुपमा लागिरहेको बताए। उनले नेपाली शिक्षामा कामको शिक्षा र पढाइको शिक्षाले मेल नखाएको हुँदा देशमा बेरोजगारी समस्याले जरो गाडेको बताए।
प्राविधिक शिक्षा, व्यवसायिक शिक्षा, व्यवस्थापकीय शिक्षामा विशेष जोड दिँदै बेरोजगारी समस्यालाई हल गर्न सकिने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।