नानजिङ- विगत ३० वर्षमा पृथ्वीको वातावरणमा दुई हजार वर्षयताकै उच्च तातोपन महसुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले जनाएको छ।
मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको तापमानमा पछिल्लो समय उच्च वृद्धि देखिएको अनुसन्धानले देखाएको हो।
चीनको दक्षिणपश्चिम युनान प्रान्तको उपोष्ण क्षेत्रमा अवस्थित सानो तालमा रहेको जमिनको सतहमा गरिएको हावाको मात्रात्मक रेकर्डको अध्ययनबाट वैज्ञानिकहरूले यो कुरा पत्ता लगाएका हुन्।
‘चाइनिज एकेडेमी अफ साइन्सेस र कोलम्बिया युनिभर्सिटी’ले यही मार्च महिनामा सार्वजनिक ‘अर्थ एन्ड प्लानेटरी साइन्स लेटर्स’ नामक अन्तर्राष्ट्रिय जोर्नल रिपोर्टमा उक्त कुरा दाबी गरिएको छ।
विगत दुई हजार वर्षमा पृथ्वीको जलवायु प्रणालीमा प्राकृतिक घटनाभन्दा मानव विकास र उत्पत्तिजन्य कार्यका कारण उत्सर्जन भएको हरितगृह ग्यासका कारण बढी प्रभावित बनेको जनाइएको छ। तर यो अनुसन्धानपूर्व जलवायुका विषयमा रहेका तथ्यांकले विभिन्न महादेशको करिब एक हजार वर्षको रेकर्ड देखाएका थिए।
पानी र हावाले जम्मा गरेका तियानकाई तालका सतहका नमुना (सेडिमेन्ट स्याम्पल, जुन समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेका छन्) ले दुई हजार वर्ष पहिलेको जलवायु बारेको तथ्यांक उजागर गरेको हो। उक्त नमुनाहरूलाई मानवीय गतिविधिले प्रभावित नगरेको र यसले हजारौं वर्ष पहिलेको तापक्रमको उतारचढावलाई मापन सम्भव भएको अनुसन्धान रिपोर्टमा दाबी गरिएको छ।
उच्च पहाडी वा हिमाली क्षेत्र जलवायु परिवर्तनका हिसावले संवेदनशील मानिने अनुसन्धान समूहका सदस्य झाओ चेङले बताए। 'सोलार विकिरण तथा ज्वालामुखी गतिविधि जलवायु प्रभावका प्रमुख स्रोतका रूपमा रहने गर्छन्। तर बीसौं शताब्दीको पछिल्लो पाँच दशकमा मानवविकास र उत्पत्तिसम्बन्धी गतिविधि तापक्रम वृद्धिको प्रमुख कारक बन्ने गरेका छन्,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।