१.
एउटा समय थियो
त्यसबेला चिप्लेढुङ्गाका लेउ
भेला गर्दै गर्दा
हठात ठोकिन्थे हातहरू
र अर्कोपट्टि फर्किएर मुस्कुराउँथ्यो ऊ!
हिँड्दै जाँदा
भेटिन्थे बिजुलीको तारमाथि
प्रेमालाप गरिरहेका चराहरू
देउरालीमा हात जोडिरहेका अधवैंसे जोडीहरू
चौतारीमा थकान बिसाइरहेका
वृद्ध प्रेमीहरू
भञ्ज्याङमा दह्रो मुट्ठी कसेर
पर क्षितिज नियालिरहेका वैंसालु प्रेमीहरू
ऊ मुस्कुराउँथ्यो, लजाउँथ्यो
यो प्रेम भोकको समय थियो
२
यो अर्को समय थियो
यसबेला पत्ता लागेको थियो
प्रेमको ठेगाना!
त्यसैबेला कोरेको थ्यो प्रेमपत्र
त्यही पत्रभित्र छापेर
रगतको औंठाछाप
तमसुक गरेका थियो दिल बुझी बुझाइलिएको!
मास्टर छलेर चिहाएको थियो प्रेमिका
अहो!
किताबका हरेक पन्ना र अक्षरहरूमा
नचाएको थियो
राजेश हमाल र करिश्मा मानन्धर,
बिर्सिएर आफैं उभिएको भुगोल
उभोंतिर फर्किएर भन्थ्यो,
`यो आकाश साँच्चै होचो छ!´
यो प्रेम रोगको समय थियो
३.
यो फेरि अर्को समय थियो
प्रेमिकाको हात समाएर
गोरेटो बाटो कुदिरहँदा
खरको पासोमा अल्झिएर हुत्तियो!
एक्कासि छोड्यो प्रेमिकाको हात
बोल्यो,
`प्रेम अन्धो हुन्छ। ´
फाल्यो!
किताबका बीचमा राखेका
उपहारका गुलाबहरू,
च्यात्यो सिरानीमुनिका प्रेमपत्रहरू
यो प्रेम शोकको समय थियो!
'आखिर प्रेम जीवनकै लयमा बग्छ!!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।