काठमाडौं– शुक्रबारबाट नेपाली फिल्म हलहरुमा ३ वटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। ‘पुरानो बुलेट’, ‘जानी नजानी’ र ‘द म्यान फ्रम काठमाडौं’ आजबाट प्रर्दशनमा आएका हुन्।
‘द म्यान फ्रम काठमाडौं’
पहिलो नेपाली हलिउड फिल्मका रुपमा ‘द म्यान फ्रम काठमाडौं’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। यो नेपाली फिल्म इतिहासको सर्वाधिक महंगो बजेटमा निर्माण भएको फिल्म रहेकाे दाबी गरिएकाे छ। निर्माण युनिटको दाबीअनुसार फिल्मका लागि ५ करोड बढी लगानी लागेकाे छ।
विशेष गरी विदेशी फिल्म बजारलाई आर्कषित बनाउने उद्देश्यले निमार्ण गरिएको फिल्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको अभिनय देख्न सकिन्छ।
अंग्रेजी भाषामा निर्माण गरिएको फिल्मलाई नेपालमा भने नेपालीमा अनुवाद गरी प्रदर्शनमा ल्याइएको छ।
पेमा धोन्डुपको लेखन तथा निर्देशन रहेको फिल्ममा हलिउड कलाकार जोसे म्यानुअल, बलिउड अभिनेता गुलसन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखसँगै नेपाली कलाकारहरू नीर शाह, कर्मा शाक्य, आना शर्मा, आमिर गौतमलगायतको अभिनय देख्न सकिन्छ।

फिल्ममा एक गैरआवासीय नेपाली मुस्लिम युवकको मनोवैज्ञानिक कथालाई प्रस्तुत गरिएको छ। फिल्मले बिहीबार साँझ ललितपुरको लविम महलस्थित हलमा विभिन्न कलाकर्मी, पत्रकार, तथा उद्योगी व्यवसायीहरू माझ 'प्रिमियर सो'को समेत आयोजना गरेको थियो।
प्रिमियरपछि कलाकर्मी तथा दर्शकहरूले भने फिल्मको खुलेर प्रशंसा गर्न सकेनन्।
‘पुरानो बुलेट’
शुक्रबारबाट अर्को नयाँ नेपाली फिल्म ‘पुरानो बुलेट’ पनि प्रदर्शनमा आएको छ। भीषण राईको लेखन तथा निर्देशनमा बनेको फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको हो।
मोरङ जिल्लामा पर्ने लेटाङको सामाजिक परिवेश र पूर्वको रहनसहन र कथावस्तु समेटिएको फिल्ममा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायतको अभिनय रहेको छ।

फिल्मले शुक्रबार बिहान एक 'प्रेस शो'को आयोजना गर्याे। जसमा उपस्थित अन्य फिल्मकर्मीहरूले भने फिल्म राम्रो रहेको प्रतिकृया दिए। फिल्म हेर्न निस्कने क्रममा स्क्रिप्ट राइटर प्रदीप भारद्धाजले पछिल्लो समय राम्रा फिल्मको अभाव खड्किरहेका बेला 'पुरानो बुलेट'ले त्यसलाई परिपूर्ति गर्नसक्ने सम्भावना रहेको बताए।
त्यस्तै, अर्का फिल्म निर्देशक मिलन चाम्सले पूर्वको एउटा 'टिपिकल' कथालाई निर्माण युनिटले सुन्दर बनाएर दर्शकसमक्ष ल्याएकोले फिल्म सफल हुने दाबी गरे।
‘जानी नजानी’
शुक्रबारबाट अर्को एक नेपाली फिल्म पनि प्रदर्शनमा आएको छ। फिल्म हो- ‘जानी नजानी’।
निर्देशक वसन्त अधिकारीको निर्देशन रहेको फिल्ममा अभिनेता मनिश श्रेष्ठ, निरिसा बस्नेत, नम्रता श्रेष्ठ, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीलगायतको अभिनय रहेको छ।
निर्देशक अधिकारीका अनुसार फिल्मले सामाजिक, पारिवारिक कथावस्तुसँगै नेपाली उत्पादन ‘ढाका’ उद्योग र यसको विस्तारको कथा प्रस्तुत गरेको छ।

यो हप्ता नेपाली हलमा हलिउड/बलिउड फिल्मको भने प्रवेश शून्य छ। ३ वटै फिल्मका निर्माताहरूका अनुसार ३ वटा फिल्मका लागि करीब ८ करोड रुपैयाँ बढी लगानी भएको बुझ्न सकिन्छ। अर्थात् यसै हप्ता फिल्म निर्माताहरूले ८ करोड रुपैयाँको लगानी दर्शकमाझ सुम्पिएका छन्।
तर, एकै हप्तामा नेपाली फिल्म बजारले यति मोटो रकम सुरक्षित गरी फिल्म निर्माताहरूलाई नाफा कमाउने स्थानसम्म पुर्याउँछन्/पुर्याउँदैनन्, त्याे भने केही दिनमै पत्ता लाग्ला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।