जनकपुर– मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष मनाउँदै आएको होरी (होली) महोत्सव यस वर्ष पनि भव्य रुपमा मनाउने तयारी गरेको छ।
होलीको जोगिरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिन मनाइने होली महोत्सवका लागि तयारी सुरु गरिएको मिथिला नाट्य कला परिषद् (मिनाप)ले जनाएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा मिनापले चैत ५ र ६ गते होली महोत्सवको आयोजना गर्दैछ।
होलीको अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ।
मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने जनालाई हरेक बर्ष छनोट गरेर महामूर्ख सहित विभिन्न व्यंग्यात्मक पदवीबाट समाजिक सम्मान गर्ने चलन छ।
आपसी भाइचाराको रुपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दुसँगै मुश्लिम युवाहरुले पनि मिलेर होली मनाउने गरेका छन्।
मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरु गरिन्छ। तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २५ वर्षदेखि होली महोत्सव आयोजन गर्दै आएको छ।
फागु पूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ।
मिनाप अध्यक्ष परमेश झाले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए।
फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी हुनेछन्। मिनापका अध्यक्ष झाले पारम्परिक फागु गीत तथा डम्फालाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गर्न लागिएको बताए।
महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जस अन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ। महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरुको माला बनाएर लगाउने प्रचलन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।