हेटौँडा– दुई साताअघि हेटौँडामा हजारौं कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको छ।
हेटौँडाका किसान कुलप्रसाद चौलागाईंले पालेका कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको हो। दुई साताअघि करौडौंको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौंडाका केही कुखुरा व्यवसायीको हजारौं कुखुरा मरेका थिए।
किसानले दिएको जानकारीअनुसार हेटौंडा–७ मा १० हजारभन्दा बढी कुखुरा मरेका थिए। भेटेनरी अस्पतालले एच नाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लु नभएको बताएको थियो।
विशेष परीक्षणमार्फत नमूना पठाइएको १५ दिनपछि बर्डफ्लु भएको पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख चेतनारायण खरेलले जानकारी दिए।
'मकवानपुरमा बर्डफ्लु देखिएको पुष्टि भयो नियन्त्रणको विषयमा छलफल हुँदैछ', उनले भने।
मकवानपुरका प्रमुख जिल्ला अधिकारीले यस सम्बन्धमा भर्खरै आपत्कालीन बैठक सम्पन्न भई नियन्त्रणको काम शुरु भइसकेको बताए।
हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौं कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि चिन्तित बनेका किसान बर्डफ्लु प्रमाणित भएपछि थप चिन्तित बनेका छन्।
हेटौँडा ८ का किसान सुवर्ण अधिकारीले ऋण गरेर कुखुरा पाल्न सुरु गरेको र अब के हुने हो भन्ने चिन्ताले सताएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।