जनकपुर– लहानदेखि १८ किलोमिटर दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दसगजाभित्रै भारतीय पक्षले नियमविपरीत भन्सार कार्यालय सञ्चालन गर्दै आएका छन्।
अन्तर्राष्ट्रिय कानुनअनुसार दसगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन।तर, यहाँ दसगजाभित्रै भारतीय नागरिकले बस्ती बसाएका छन्।
दसगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीय पक्षले प्रवेशद्वार बनाएको छ। प्रवेशद्वार उत्तरतर्फ दसगजाको जग्गा खाली हुनुपर्नेमा त्यहीँ भन्सार कार्यालय र दुई दर्जन बस्ती छन्।
जग्गा खाली रहेकाले घर बनाएर बसेको भारतीय नागरिक अजय देवले बताए। ‘बिहान–बेलुका मजदुरी गरी गुजारा चलाउँछौं,’ उनले भने, ‘दसगजामै कस्टम कार्यालय भएकाले हामीले पनि घर बनाएर बसेका हौं।’
आफूहरू वर्षौंदेखि त्यहीँ बसिरहेको अजय देवले बताए। उनले यस क्षेत्रभित्र करिब १२ वटा घर बनेको समेत जानकारी दिए।
यहाँ अधिकांश सुकुम्बासीको बसोबास छ। भारतीय पक्षले साइकल, मोटरसाइकल र चारपांग्रे सवारी नेपालतर्फ पार्किङ गर्दा यताका व्यापारीले सास्ती भोग्नुपरेको यादवले सुनाए।
सुरक्षा स्रोतका अनुसार भारतको निकटवर्ती सहर जयनगरमा दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकमा नेपाल पक्षले सीमा छेउका मदिरा पसल हटाउने तथा भारतीय पक्षले ठाडीसँग जोडिएको दसगजाबाट भन्सार कार्यालय हटाउने सहमति भएको थियो।
नेपाली सीमा छेउका मदिरा पसल हटाइए पनि भारतीय पक्षले भन्सार कार्यालय अझै हटाएको छैन। भारतीय भन्सारका अधिकारीले भने स्थायी संरचना नभई व्यापारिक कारोबार र जाँचमा सहजताका लागि तत्काललाई छाप्रोबाट काम चलाउने गरिएको बताउँदै आएका छन्।
नेपालपट्टिका भन्सार प्रमुख उमेश भट्टराईले दुई देशको सीमा र कूटनीतिका कुरा भएकाले आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।