लन्डन- युरोपेली संघ (इयू)सँग बिना कुनै सम्झौता बाहिरिने बेलायती प्रधानमन्त्री थेरेसा मेको प्रस्ताव पनि त्यहाँको संसद्ले अस्वीकृत गरेको छ।
बेलायती तल्लो सदन ‘हावस अफ कमन्स’मा बुधबार साँझ भएको मतदानमा प्रधानमन्त्री मेको प्रस्तावविरुद्ध ३ सय १२ सांसदले मतदान गरेका थिए भने पक्षमा ३ सय ८ सासंद उभिएका थिए।
मंगलबारको मतदानमा पनि बर्हिगमनसम्बन्धी मेको मस्यौदा संसद्बाट अस्वीकृत भएको थियो। विपक्षमा ३ सय ९१ सांसदले मतदान गरेका थिए भने पक्षमा २ सय ४२ सांसद उभिएका थिए।
संसद्बाट मेको प्रस्ताव दोस्रो पटकको अस्वीकृतिसँगै मार्च २९ तारिखमा इयूबाट अलग हुने बेलायतको प्रयास अब लम्बिने भएको छ। अब बेलायतसामू मार्च २९ को बर्हिगमन मितिलाई केही पर धकेल्न इयूसँग अनुमति माग्ने विकल्प छ। यही विकल्पमाथि पनि संसद्मा पुन: अर्को मतदान हुनेछ।
बेलायती सञ्चार संस्था बीबीसीका अनुसार प्रधानमन्त्री मेले ‘ब्रेक्जिट’को समयावधि केही लम्ब्याउन इयूसँग अनुमति माग्ने बारेको प्रस्तावलाई संसद्बाट स्वीकृत गराउन तेस्रो पटक प्रयास गर्ने भएकी छिन्।
यस विषयमा अर्को हप्ता मतदान गराउने तयारी भए पनि मतदानको मिति अझै निश्चित भइनसकेको समाचारमा जनाइएकाे छ।
इयूबाट बेलायत बाहिरिने वा इयूमै रहने भन्ने विषयमा सन् २०१६ मा जनतमत संग्रह भएको थियो। ५१ दशमलब ९ प्रतिशले संघबाट बेलायत छुट्टिनुपर्ने मत जाहेर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।