साओ पाउलो – ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ।
बुधबार भएको सो घटनामा परि अरु केही घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन्।
गोली लागेर मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना महिला र दुई जना गोली प्रहार गर्ने मध्येका व्यक्तिहरू रहेको प्रहरीको भनाइ छ।
स्थानीय समयअनुसार बिहान साढे नौ बजे राउल ब्राजिल पब्लिक स्कुलमा गोली प्रहार भएको हो।
प्रारम्भिक विवरणका अनुसार सुरुमा आठ जनाको मृत्यु भएकोमा पछि दश पुगेको हो। मृत्यु हुनेको संख्या अरु पनि बढ्न सक्ने अनुमान गरिएको छ।
घटनामा परि घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।
घटना थाहा पाउने बित्तिकै अभिभावक र छिमेकीहरू विद्यालयमा पुगेका थिए। उनीहरुमध्ये एक जनाले भने, 'यस्तो दर्दनाक घटना त मैले अहिलेसम्म देखेकै थिएन, अत्यन्त दुःखद घटना भयो।'
साओ पाउलो राज्यका गभर्नर जाओ डोरिआले घटनाका पीडितहरूलाई र उनीहरूका आफन्तलाई सम्बोधन गर्नु अहिलेको प्रमुख प्राथमिकता भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।