फ्राङ्कफर्ट- जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब ७ हजार कर्मचारी कटौती गर्ने जनाएको छ।
कम्पनीले कटौतीमा पर्ने कामदार कर्मचारीलाई अवकाश सुविधाको अवसर प्रदान गरिने जनाएको छ।
भक्सवागनले दिगो प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न पनि कर्मचारी कटौती गर्नु परेको स्पष्ट गरेको छ। एक अनुमान अनुसार आगामी वर्षहरुमा अवकाशका लागि करिब ११ हजार कर्मचारी योग्य हुनेछन्। सन् २०२३ सम्ममा प्रतिवर्ष करिब ६ अर्ब युरो बचत गर्ने कम्पनीको योजना बमोजिम कर्मचारी कटौती गर्न लागिएको हो।
यसैबीच, उल्फ्सबर्गस्थित भक्सवागनले ब्याट्रीबाट चल्ने कार र स्वचालित कार उत्पादनमा लगानी वृद्धि गर्ने योजना अघि सारेको छ। कम्पनीले नोभेम्बरमा घोषणा गरिएको ११ अर्ब युरोबाट झण्डै १९ अर्ब युरो पुर्याउने लक्ष्य राखेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।