लागोस– नाइजेरियाको व्यावसायिक क्षेत्रमा रहेको एउटा विद्यालयको भवन बुधबार भत्किँदा केही बालबालिकाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गरी अधिकारीले बताएका छन्।
स्थानीय समयअनुसार बिहान १० बजेको समयमा भवन भत्किएको थियो। विद्यालय समयमा भएको उक्त घटनामा केही बालबालिका फसेका र उनीहरूलाई जीवितै उद्धार गर्न स्थानीयको सहयोगमा सुरक्षाकर्मी खटिराखेका बताइएको छ।
लागोसको आइसाइका मोन्सुरतमा रहेको तीन तले भवन भत्किनुको कारण अझै थाहा हुन सकेको छैन त भवनको कमजोर संरचना नै भवन भत्किएको हुनसक्ने अनुमान गरिएको छ।
लागोस आपतकालीन व्यवस्था निकायका प्रवक्ताले भवन भत्किएर केही बालबालिका फसेको कुरालाई पुष्टि गर्नुभएको छ तर मृत्युबारे आफूलाई आधिकारिक सूचना प्राप्त नभएको बताए।
नाइजेरियामा प्राय: भवनका कमजोर निर्माण सामग्री, कमजोर संरचनामा अत्यधिक भार राखी परम्परागत रूपमा भवनहरू बनाइने गरेका र पटक पटक यस्ता घटना दोहोरिने र यसबाट वर्षेनी दर्जनौं नागरिकको मृत्यु हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।