दाङ- महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अविभाज्य तथा अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोजे कानुनी दायरामा ल्याइने बताएका छन्।
हालै मात्र नेपाल सरकार र सिके राउतची भएको सम्झौतालाई विभिन्न कोणबाट विश्लेषण हुने गरेको भन्दै पूर्व कानुनमन्त्री समेत रहेका खरेलले सम्झौताविपरीत काम गरे राउत वा उनको समूहलाई कानुनी दायरामा ल्याइने बताए।
मंगलबार उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नवनिर्मित भवन उद्घाटन गर्दै उनले भने, ‘अहिले उक्त समूहसँग सम्झौता भएपछि सरकार छ कि छैन भनेर प्रश्न उठिरहेको छ, यदि अखण्ड नेपाललाई कसैले टुक्राउन खोज्छ भने राज्य र अदालतले कानुनी दायरामा ल्याउँछ।’
उच्च सरकारी वकिल कार्यालय पीडितहरुको अड्डा भएकाले पिडितलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याउने कार्य थप प्रभावकारी बनाउन उनले आग्रह गरे।
४ करोड ३९ लाख ६५ हजार लागतमा निर्माण भएको उक्त भवन निर्माणको काम २०७४ पुसमा सम्पन्न भएको हो। २०७२ असार २४ गतेदेखि निर्माण सुरु भएको भवन २०७४ असारसम्म पूरा गरिसक्नुपर्ने भए पनि विभिन्न कारणले ६ महिना ढिला भएको थियो। ४ तलाको भवनमा ४३ वटा कोठा रहेको सहरी भवन डिभिजन कार्यालय दाङका प्रमुख परीक्षित कदरियाले जानकारी दिए।
उच्च सरकारी वकिल कार्यालयसँगै सोही भवनमा सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रदेश कार्यालय पनि राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।