काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्।
नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका हुन्।
फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न टोलीले मंगलबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेको थियो।
'कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर के का लागि वार्ता गर्ने? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन्? बम पड्काउने,आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्', प्रधानमन्त्री ओलीले भने, 'जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ, त्यहीँ बम हान्नेहरुसँग केको वार्ता? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ।'
प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिस्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए।
कम्युनिस्टले त युवाहरुलाई कर्मठ र कर्मशील हुन सिकाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।
'कम्युनिस्टले त य'वाहरुलाई कर्मशील हुन,सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो, उनले भने, 'यहाँ त कम्युनिस्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन्। यो हुन सक्ने कुरा होइन।'
प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गरे। सो घटनाको बारेमा सरकारले छानबिन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।