मलेसिया- उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाई किम जोङ नामको हत्या गरेको आरोपमा थुनामा रहेकी इन्डोनेसियाकी एक महिलालाई सोमबार रिहा गरिएको छ।
इन्डोनेसियाकी नागरिक सिती अल्स्यानविरुद्ध दर्ता गरिएको मुद्धा फिर्ता भएकाले मलेसियाबाट उनलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन्।
सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा 'भीएक्स नर्भ एजेन्ट' भनिने विषालु पदार्थ दलिदिएको आरोपमा उनी र अर्की भियतनामकी महिला डोन थी हौङलाई थुनामा राखिएको थियो।
लामो समयपछि अल्स्यानको मुद्दामा प्रतिवादी पक्षको सुनुवाइ सुरु हुन लागेकै बेला मुद्दा फिर्ता भएको हो। सो मुद्दा हेरिरहेका अभियोजनकर्ताले कुनै कारण स्पष्ट नपारी सिती अल्स्यानविरुद्धका मुद्दाहरु फिर्ता गर्न अनुरोध गरेका थिए।
इन्डोनेसियाका कानुनमन्त्रीलाई पठाइएको एक पत्रमा मलेसियाका महान्यायाधिवक्ताले दुई देशबीचको सुमधुर सम्बन्धमा असर नपार्नका लागि मुद्दा फिर्ता लिइएको उल्लेख गरेका छन्।
सरकारी अभियोजनकर्ताको आग्रहअनुसार न्यायाधीशले मुद्दा फिर्ता लिन स्वीकार गरेपनि अल्स्यानलाई लागेको आरोपबाट सफाइ भने दिइनसकिएको अधिकारीहरुले बताएका छन्।
इन्डोनेसियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरुले एउटा टिभी कार्यक्रमका लागि आफूहरु त्यहाँ गएको बताउँदै आएका छन्।
सोमबार हौङको बयान हुन लागेको थियो। अल्स्यानको मुद्धा फिर्ता भएपनि हौङको बयान भने पछाडि सारिएको छ।
मकाउ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका बेला किममाथी आक्रमण भएको थियो। आक्रमणको २० मिनेटमै उनको मृत्यु भएको थियो।
क्वालालम्पुर विमानस्थलको सिसिटिभी दृष्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिलाहरू गएको देखिएको छ। त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुबै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको अधिकारीहरुले बताएका छन्। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।