राजविराज– सप्तरी सदरमुकाम राजविराजका अधिकांश होटल, लज र रेस्टुरेन्टले सरसफाइ तथा खाद्य स्वच्छता र गुणस्तरलाई बेवास्ता गर्ने गरेको पाइएको छ। सप्तरीका सिडिओ सुरेन्द्र पौडेलको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले सोमबार गरेको अनुगमनका क्रममा होटल, रेस्टुरेन्ट र लजहरुमा सरसफाइ तथा खाद्य सुरक्षाको कमजोर अवस्था फेला परेको हो।
‘खाद्य स्वच्छताका आधारमा होटल/रेस्टुरेन्टमा स्तरीकरण तथा लोगो वितरण कार्यक्रम’ अन्तर्गत अनुगमन गरिएको हो। सो क्रममा राजविराजकै राम्रो भनिएको ‘आई गार्डेन होटल’ ले समेत सरसफाइलाई बेवास्ता गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुरेश सिंहले भने, ‘भण्डारण कक्ष, भान्सा कोठा, भाँडा माझ्ने ठाउँ र सुत्ने कोठा समेतको अनुगमन गर्दा सन्तोषजनक अवस्था देखिएन।’

खाद्य स्वच्छताका आधारमा आई गार्डेन ‘ग’ वर्गमा परेको र अन्य होटलको अवस्था त्योभन्दा कमजोर फेला परेको सिंहले बताए।
टोलीका एक सदस्यले राम्रो भनिएको होटलकै अवस्था कमजोर देखाउँदा अन्य होटल वर्गीकरणमै नपर्ने भएकाले आई गार्डेनलाई ‘ग’ वर्गमा राख्नुपरेको बताए।
स्टार डिलक्स, ग्रिन स्टार होटल, माउण्ट ब्लु लगायतका १५ वटा होटल अनुगमन गर्दा अधिकांश होटलको शौचालय तथा फोहोर पानीको निकास समेत ढलमा मिसाइएको पाइएको सिंहले जानकारी दिए। अनुगमन गरिएका मध्ये ४ वटा ‘ग’ र अन्य ‘घ’ वर्गमा परेको उनको भनाइ छ।
खाद्य स्वच्छताको आधारमा होटल तथा रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ ले अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी होटल तथा रेस्टुरेन्टलाई चार वर्गमा विभाजन गर्ने व्यवस्था गरेको छ। होटल तथा रेस्टुरेन्टको बाहिरी तथा भित्री भागको सफाइ, प्रयोग गरिने खाद्यवस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी, खाने कुराहरुको व्यवस्थापन, लेबल लगाइराखिएको छ/छैन, खाडल, नाली तथा शौचालयबाट बग्ने सबै फोहोर पानीलाई राम्रोसँग ढल निकासको व्यवस्थित गरिएको छ/छैन लगायतका ५० वटा मापदण्डमा होटलको मूल्यांकन गरिन्छ।
अनुगमनका क्रममा ९० अंकभन्दा माथि ल्याउने होटल ‘क’, ८० देखि ८९ अंक ल्याउने होटल ‘ख’, ६५ देखि ७९ अंक प्राप्त गर्ने होटल ‘ग’ र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेस्टुरेन्ट ‘घ’ वर्गमा समावेश हुने सिडिओ पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।