काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम तथा रोजगार कार्यालय बुटबलको आकस्मिक निरीक्षण गर्दै उक्त कार्यालय सार्न निर्देशन दिएका छन्।
वैदेशिक रोजगारीमा जानेले सरकारबाट लिने स्वीकृति लिन सजिलो होस् भन्ने उद्देश्यले कार्यालय स्थापना भएपनि बिचौलिया लाग्ने गरेको तथा कार्यालयका कर्मचारीबाटै असहयोग हुने गरेको गुनासो आएपछि मन्त्री विष्टले उक्त कार्यालयको आकस्मिक निरीक्षण गरेका हुन्।
निरीक्षण लगत्तै मन्त्री विष्टले सेवाग्राहीको सुविधाका लागि एक हप्ताभित्र कार्यालय पायक पर्ने स्थानमा सार्न निर्देशन दिएका छन्।
श्रम कार्यालयमा रहेको कर्मचारी अभावको समस्या समाधान गर्न पनि उनले निर्देशन दिएका छन्।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन रुपन्देही पुगेका मन्त्री विष्टले रोजगार कार्यालयको आकस्मिक निरीक्षण गरेका थिए। मन्त्री विष्टले सोमबार नै बुटवलस्थित सीप विकास तथा तालिम केन्द्रको कार्यालयमा पनि निरीक्षण गरेका छन्।
श्रम मन्त्रालयले प्रदेशमा रहेका ६ वटा श्रम तथा रोजगार कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुलाई श्रम स्वीकृतीको अधिकार प्रत्यायोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।