काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले क्रान्तिको नाममा लुटपाट मच्चाएको बताएका छन्।
सोमबार सिंंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को १८औं वार्षिकोत्वसमा बोल्दै प्रधानमन्त्री ओलीले क्रान्तिको आवरणमा अहिले लुटपाट भइरहेको र त्यसमा विप्लवसँगै अन्य कसैको स्वार्थ रहेकोतर्फ इंगित गरे।ओली सुरक्षा परिषद्का अध्यक्षसमेत हुन्।
कार्यक्रमको प्रमुख अतिथि रहेका ओलीले भने, ‘अहिले देशमा विभिन्न प्रकरण र आवरणमा लुटपाट भइरहेको छ। क्रान्तिको नाममा चन्दा आतंक र लुटपाट भएको छ। यो लुटपाट मात्रै हो कि यसमा अरु कसैको स्वार्थ छ?'
प्रधानमन्त्री ओलीले सिके राउतसँग ११ बुँदे सहमति गरेर सरकारले विखण्डनकारीको अन्त्य गरेको बताए। केही व्यक्तिले सिके राउतसँग अखण्डताका बारेमा जनमत संग्रह गर्न लागेको भनेर गरिएको प्रचारबाजी सत्यता नभएको उनको दाबी थियो। उनले भने, ‘राष्ट्रिय अखण्डताको विषय प्रश्नसमेत बन्न सक्दैन। यस्तो विषयमा कसरी जनतम संग्रह हुन सक्छ?’
देशमा भइरहेका राष्ट्रिय सुरक्षाका विषयमा परिषद्ले गम्भीर विष्लेषण गरिहेको र विखण्डनकारी, लुटपाट गर्ने तत्वहरुलाई कानुनको कठघरामा उभ्याउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।