काठमाडौं- प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले न्यारोबडी ए ३२० जहाजको इन्जिन मर्मतका लागि गरिएको रि–टेन्डर प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ।
सोमबार लेखा समितिले निगम सञ्चालक सदस्यहरुको छलफलपछि इन्जिन मर्मतका लागि गरिएको टेन्डर रद्द गरी पहिलो पटक माग गरिएको टेन्डर प्रक्रिया अनुसार नै कम्पनी छनोट गर्न निर्देशन दिएको छ।
निगमले २०१८ मे ११ मा पहिलो पटक प्रकाशित इन्जिनको मर्मत तथा लिजको डेन्डर रद्द गर्दै जनवरी ८ मा पुनः इन्जिन मर्मतका लागि मात्रै टेन्डर गरेको थियो।
निगम कार्यकारी अध्यक्ष मदन खरेलले उक्त टेन्डर मूल्यांकनको चरणमा रद्द गरी इन्जिन मर्मतका लागि मात्रै टेन्डर गरेको थिए। तर, खरेलले इन्जिन भाडाको लागि पनि टेन्डर गर्ने तयारी गरिरहेको बेला समितिले यस्तो निर्देशन दिएको हो।
खरेलले पहिलोपटक प्रकाशित टेन्डर रद्द गरेर निगमलाई थप १ अर्ब ५३ करोड रुपैयाँ क्षति पुग्ने गरी रि–टेन्डर गरेको भन्दै समितिमा परेको उजुरीका आधारमा समितिले यस्तो निर्देशन दिएको हो। खरेलले भने यसअघि समितिमा भएको छलफलमा नेपाल वायुसेवा निगमको आर्थिक विनियमावाली अनुसार दुईवटै टेन्डर एकै पटकमा गर्न नमिल्ने भन्दै टेन्डर रद्द गरेर रि गरेको जवाफ दिएका थिए।
समितिको निर्देशनपछि अब निगमले २०१८ मे ११ मा पहिलो पटक प्रकाशित इन्जिनको मर्मत तथा लिजको टेन्डरमा सहभागी कम्पनीहरुको प्रस्ताव मूल्यांकन गरी कम्पनी छनोट गर्नुपर्ने भएको छ। समितिले निगम सञ्चालक सदस्यहरुको रायसल्लाहसँगै यस्तो निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।