जनकपुर– जनकपुरधाम विमानस्थलमा सिके राउतका कार्यकर्ताले पत्रकारमाथि दुर्व्यवहार गरेका छन्।
आइतबार विमानस्थलमा राउतको सुरक्षाका लागि खटिएका कार्यकर्ताले रिपोर्टिङमा गएका पत्रकारलाई विमानस्थल कक्षबाट बाहिर निकालेर भिआइपी परिसर आफ्नो कब्जामा लिएका थिए।
'सिकेका कार्यकर्ताले हामीलाई माथिबाटै निर्देशन आएको भन्दै पत्रकारलाई प्रश्न सोध्न नदिइ दुर्व्यवहार गर्दै भिआइपी कक्षबाट निकालेका थिए,' एक पत्रकारले भने।
राउतलाई प्रश्न सोध्न खोजेको भन्दै स्वराजी कमाण्डर भनिएका कार्यकर्ताले पत्रकारलाई धकेलेर बाहिर निकालेका थिए।
बिहान ११ बजेदेखि नै कार्यकर्ताहरू परिसर बाहिर, परिसरभित्र र भिआइपी कक्ष कब्जा गरेर बसेका थिए।
सरकारसँगको सम्झौतापछि पहिलो पटक मधेस झरेका राउतले पत्रकारसँग कुरा गर्न मानेनन्।
बिहान ११ बजेदेखि नै रिपोर्टिङमा लागि बसेका केही पत्रकारले ती कार्यकर्ताको भिडलाई चिर्दै राउतसँग जिज्ञासा राख्न खोज्दा उनी केही नभनी पत्रकारलाई बेवास्ता गर्दै गाडीमा चढेका थिए।
पत्रकार महासंघको आपत्ति
यसैबीच पत्रकार महासंघ धनुषाले पत्रकारलाई गरेको दुर्व्यवहार र अवरोधमाथि आपत्ति जनाएको छ।
महासंघले एक विज्ञप्ति जारी गर्दै समाचार संकलनको वातावरण बनाइदिन सबैलाई आग्रह गरेको छ।
'जुनसुकै विचारधाराको राजनितिक दल वा संघ संगठन भए पनि उनीहरूको गतिविधिको समाचार स्वतन्त्र रुपमा संकलन गर्न पाउनु पर्ने देशकै चौथो अंग भनिएका सञ्चारकर्मी उपरको दुर्व्यवहार निन्दनीय छ,' विज्ञप्तिमा भनिएको छ, 'अब आइन्दा यस्ता गतिविधि बन्द गर्न र समाचार संकलनमा गएका सञ्चारकर्मीहरुलाई सौहादपूर्ण रुपमा समाचार संकलनको वातावरण बनाइदिन हुन सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउन चाहन्छौं।'
यस्ता गतिविधी पुनः दोहरिए महासंघले कडा विरोधको कदम चाल्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।