काठमाडौं– सरकारले श्रमजीवि किसानको स्वरोजगार खोस्ने गरी चिनियाँ गाई तथा बाच्छी आयात गर्न लागेको भन्दै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले विरोध गरेको छ।
संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कृषिप्रधान मुलुकका बहुसंख्यक किसानको विरुद्धमा दुग्ध क्षेत्रको विकासद्धारा ग्रामीण अर्थतन्त्रको विकास गर्न भन्दै गाई आयात गर्न लागेको आरोप लगाएको हो।
सामाजिक सरक्षा र दुधमा देशलाई आत्मनिर्भर बनाउने खोक्रो नारा भजनका रुपमा घन्काउँदै श्रमजीवि किसानको स्वरोजगार खोस्न खाजेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रदेश सरकार ४, ३ र २ ले चाइनिज कृषि यान्त्रिकीकरण विज्ञान एकेडेमी (क्याम्स) तथा चाइना क्याम्क इन्जिनियरिङ कम्पनी (क्याम्सी)सँग गाई ओसारपसार सम्झौता गरेसँगै संघले विरोध गरेको हो।
सरकारले ३२ अर्ब रुपैयाँ बराबरको ४ हजार गाई आयात गर्नुको सट्टा नेपालमै उत्पादन भएका गाईका बाच्छीको संरक्षण गर्नु उचित हुने उनीहरूको धारण छ।
'दुग्ध क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने प्रविधि भित्र्याउन आवश्यक छ’, संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले भने, ‘ प्रतिगाई ३ लाख खर्चेर नेपाल ल्याउन भन्दा हाम्रै हावापानीमा जन्मेका बाच्छीको संरक्षण गरी उन्नत नश्लका गाई विकास गरी विपन्न किसानका लागि सहयोग कार्यक्रम सञ्चालन गर्दा राज्यको खर्च कम हुन्छ।’
सरकारले ३२ अर्बको ठाँउमा ५ अर्ब रुपैयाँ मात्रै खर्च गर्दा पनि ४ हजार भन्दा बढी बाच्छी नेपालमै उत्पादन हुने उनको दाबी छ।
सरकारले वार्षिक रुपमा ३ लाख गाईमा कृत्रिम गर्भाधान (एआइ) मार्फत उन्त नश्लका पशुको प्रवर्द्धनमा लगानी गरिरहेको अवस्थामा सरोकारवाला निकायसँग कुनै छलफल नगरी चाइनिज गाई ल्याउने सम्झौता गरेको उनको भनाइ छ।
‘दैनिक ५ करोड रुपैयाँ रकम सहरबाट सहरकारीमार्फत गाउँगाउँमा पुगिरहेको छ’, उनले भने, ‘ सरकारले हचुवाको भरमा गर्न लागेको यो निर्णयबाट ११ लाख परिवारको स्वरोजगर गुम्न सक्छ।’
हाल वार्षिक २० लाख ८५ हजार मेट्रिक टन दुग्ध उत्पादन भइरहेको छ। यो वार्षिक उत्पादनको झन्दै ५ प्रतिशतको वृद्धिदर हो।
कुल गार्हस्थ्य उत्पादनको दुग्ध क्षेत्रको योगदान मात्रै ९ प्रतिशत रहेको अवस्थामा सरकारले नेपाली किसानको पेसा धरापमा पार्ने गरी गाई आयात तथा उद्योगमा विदेशी लगानी भित्र्याउन खोजको संघको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।