इथियोपिया– इथियोपियाको एडिस अबाबाबाट केन्याको नैरोबिका लागि उडेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएको छ। एयरलाइन्सको बोइङ ७३७ जहाज इथियोपियाको एडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको जहाज दुर्घटनामा परेको हो।
स्थानीय समय अनुसार ८ बजेर ३८ मिनेटमा उडेको जहाज पछिल्लो पटक ८ बजेर ४४ मिनेटमा सम्पर्कमा आएको थियो।
उडान भएको केही क्षणमा नै जहाज दुर्घटना भएको बताइएको छ।
इथियोपियन एयरलाइन्सले दुर्घटना भएको जानकारी दिँदै जहाजमा १ सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको समेत पुष्टि गरेको छ।
'एडिस अबाबा बाट केन्याको नैरोबीका लागि उडेको जहाज दुर्घटनामा परेको पुष्टि भएको छ,' एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एयरलाइन्सले उद्धार जारी रहेको बताएको छ। तर घटनामा के कति जनाको मृत्यु भएको पुष्टि भएको छैन।
जहाजमा सवारी सबैको निधन भएको आशंका गरिएको छ।
उता इथियोपियाका प्रधानमन्त्री अविय अहमदले भने दुर्घटनमा परी निधन भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ट्विट गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।