काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेस गठबन्धनसँग गरिएको सम्झौताले राष्ट्रिय अखण्डतामा महत्त्वपूर्ण उपलब्धी भएको बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले राउत नेतृत्वको गठबन्धनसँग गरिएको सम्झौतामाथि उठाएका आशंकको जवाफ दिँदै गृहमन्त्री बादलले सम्झौता राष्ट्रघाती नभएको बताएका छन्।
'यो सहमतिलाई नेपाल राज्यको राष्ट्रिय, भौगोलिक, क्षेत्रीय अखण्डताको रक्षामा एउटा महत्त्वपूर्ण उपलब्धी भएको निष्कर्षमा सरकार पुगेको छ', उनले भने, 'यो निष्कर्षले देशको शान्ति सुरक्षालाई पनि सुदृढ बनाउने छ भन्ने कुरामा हामी विश्वस्त भएका छौं।'
बादलले समूहले स्वतन्त्र मधेसको स्थापना गर्ने लक्ष्यलाई परित्याग गरेको बताए।
'सरकारले (राउतजस्ता) समूहलाई नियन्त्रण गर्ने र राष्ट्रको अखण्डताको रक्षा गर्नका निम्ति निरन्तर प्रयास गर्दै आएको थियो। अहिले सरकार र राउतबीच एउटा राजनीतिक सहमति भएको छ', उनले भने, 'यसले नेपाललाई विखण्डन गर्ने वा स्वतन्त्र मधेसको स्थापना गर्ने आफ्नो लक्ष्यलाई त्यसले परित्याग गरेको छ। आफूहरु नेपालको राष्ट्रिय, क्षेत्रीय, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधिनता र स्वतन्त्रताको रक्षा गर्न हामी आफ्नो कर्तव्य ठान्नेछौं भन्ने कुरामा सो समूह सरकारसँग सहमतिमा भएको छ।'
सरकारलाई विखण्डनकारीसँग आत्मसमर्पण गरेको र राउत समूहलाई पनि सरकारसँग आत्मसमर्पण गरेको बनेर आरोप लागिरहेको प्रसंग निकाल्दै गृहमन्त्री बादलले कसैले कसैसँग आत्मसमर्पण नगरेको बताए।
'स्पष्ट कुरालाई अस्पष्ट पार्ने प्रयास भएको छ। यसबाट सरकार आश्चर्यचकित भएको छ', बादलले भने।
मधेसी जनताको राजनीति, सांस्कृतिक र आर्थिक अधिकारको उपभोग गर्ने विषयमा कतिपय अपूर्णता रहेको भन्दै लोकतान्त्रिक विधि र जनअभिमतबाटै पूर्ण गर्न सकिने विषयमा राज्य र राउत समूह सहमत भएको बादलले बताए।
उनले सम्झौताको विषयमा उठेको प्रश्न गलत कोणबाट उठेको र त्यसमा कुनै आधार नभएको बादलले आरोप लगाए।
यो राज्य र संविधानले मधेसलाई आन्तरिक उपनिवेश नबनाएको गृहमन्त्री बादलले बताए।
सम्झौताको दोस्रो बुँदामा उल्लेखित जनअभिमतलाई 'जनमत संग्रह'को रुपमा चर्चा गरिएको विषयलाई गृहमन्त्रीले भ्रामक कुरा भएको बताए। 'सरकारले जनमत संग्रहद्वारा स्वतन्त्र मधेसी गठबन्धनको मागलाई जनमत संग्रहमा लगेर टुंग्याउने भनेर जसरी अर्थ लगाउन खोजिएको छ, त्यो नितान्त भ्रामक र गलत बुझाइ हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।