काठमाडौं- नेपालका पहिलो वेदाचार्य एवम् वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता आयोजना गरिएको छ। विसं २००९ मा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गरेका थिए। महाविद्यालयलाई पछि वाल्मीकि विद्यापीठ नामाकरण गरिएकाे थियो।
कान्तिभैरव गुरुकुल गोकर्णेश्वर–४ उत्तरवाहिनीले आयोजना गरेको प्रतियोगितामा ७ गुरुकुलको सहभागिता थियो। प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत गुरुकुलका ३५ विद्यार्थीको सहभागिता थियो। सहभागीले डेढ घण्टासम्म वेद कण्ठ सुनाएका थिए। प्राचीनकालमा वेद गुरुले शिष्यलाई सुनाएरै कण्ठ गराउने परम्परा रहेकाले श्रुति पनि भनिन्छ।
शिक्षामा आधुनिकताको प्रवेशसँगै वेदको अध्ययन अध्यापनमा कमी आएको थियो। फलस्वरुप वेद कण्ठ हुने मानिस पाउनु दुर्लभप्रायः बन्दै गएकाले प्रतियोगिता आयोजना गरिएको गुरुकुल सञ्चालक समितिका सचिव डा श्रीराम अधिकारीले बताए।
प्रतियोगितामा आयोजक कान्तिभैरव गुरुकुल पहिलो भयो। भागवत सन्यास आश्रम गुरुकुल पशुपति राममन्दिर दोस्रो, शङ्कराचार्य पीठ वेद वेदाङ्ग गुरुकुल साधुटार, झापा तेस्रो र सप्तमाई संस्कृत माध्यमिक विद्यालय गुरुकुल इलामले सान्त्वना पुरस्कार पाएका थिए।
प्रत्येक गुरुकुलका पाँच जनाको समूहले वेद कण्ठस्थ सुनाएका थिए। पुरस्कार पाउने सबै विद्यार्थीलाई दक्षिणास्वरुप एक हजार १ सय रुपैयाँ पुरस्कार, प्रमाणपत्र र दोसल्लाले शिक्षा सचिव खगराज बरालले सम्मान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बरालले देश विदेशमा संस्कृत भाषा र वेदप्रतिको आकर्षण बढ्दै गएकाले सरकारले पनि संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। वेद कण्ठ गर्ने बानीले वटुकमा ऋषिमनको विकास हुने भएकाले अर्को वर्षदेखि आयोजना हुने प्रतियोगितामा मन्त्रालयले पनि सहयोग उपलब्ध गराउने उनको प्रतिबद्धता थियो।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाले आगामी वैसाखदेखि लागू गर्ने नयाँ पाठ्यक्रममा गुरुकुल र संस्कृत शिक्षालाई प्राथमिकता दिने वाचा गरे।
कार्यक्रममा पूर्वसचिव एवम् पूर्वनिर्वाचन आयुक्त रहिसकेका स्वर्गीय पौडेलका शिष्य रामचन्द्र शर्मा पौडेल ‘रम्घाली’, गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्रा डा ऋषिराम पोखरेल, सचिव अधिकारी लगायतले अर्को वर्षदेखि अझै बृहत रुपमा वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गरिनुपर्नेमा जोड दिए।
सो अवसरमा सचिव बरालले गुरुकुलका पूर्वछात्र सुदीप कोइरालाले लेखेकाे ‘कान्तिश्वर’ कविता सङ्ग्रह विमोचन गरे। सङ्ग्रहमा शास्त्रीय छन्दमा लेखिएका कविता सङ्ग्रहित छन्। सङ्ग्रहका बारेमा कवि बलराम दाहालले समीक्षा गरेका थिए।
सो अवसरमा गुरुकुललाई आर्थिक सहयोग गर्ने निर्मला अर्याल र श्रीचन केसीलाई पनि सम्मान गरिएको थियो। विसं २०६५ मा स्थापना भएको गुरुकुलमा हाल १ सयभन्दा बढी विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत रहेको गुरुकुलले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।