काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावाद नरहेको बताएका छन्।
काठमाडौंमा आइतबार आयोजित अन्तराष्ट्रिय किसान सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने– 'नेपालमा अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन छैन, समूह संगठन केही पनि छैन।'
उनले सिके राउतसँग भएको सम्झौताप्रति शंका गर्नेहरुलाई 'बिरालोले खाँबो चिथोरेको' उखानसँग तुलना गरे।
'केहीकेही मान्छे कुनाकाप्चामा, कतैकतै सम्झौताबाट छट्पटाएका छन्। पिरोलिएका छन्। मैले भन्ने गरेको छु– बिरालो रिसायो भने खाँबो चिथोर्छ', प्रधानमन्त्री ओलीले थपे, 'तर, पृथकतावाद छाडेर राष्ट्रिय मूलधारको राजनीति आउनु र त्यसरी ल्याउनु त्यो सफलता र सकारात्मक होइन भने केचाहिँ सकारात्मक हुन्छ? संविधान मानेर चल्छु भन्दा शंका छ रे! शंका षडयन्त्र धोकाजस्ता कुरामा मेरो विश्वास छैन।'
'एउटा पृथकतावादी माग सहितको समूह पनि नेपालमा थियो। अस्तिको दिनसम्म पृथकतावादी माग राखेर, छुट्टै स्वतन्त्र राज्यको माग राखेर हिँडेको एउटा समूह पनि थियो। तर त्यस समूहले मूलधारको राजनीति गर्ने, देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्नु हरेक नागरिकको कर्तव्य हो, संविधानप्रदत्त हक अधिकारभित्र जनताको अभिमत र भावनालाई कदर गरेर, आफ्ना आग्रह छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको छ', प्रधानमन्त्रीले भने।
उनले देशमा संक्रमणकाल टुंग्याएर सुशासन र विकासको महाअभियानतर्फ लागेको बताए। अभियान दृढ र तिब्र गतिले अघि बढिरहेको पनि उनले थपे।
'अब देशलाई सुशासन र विकास आवश्यकता छ', उनले भने, 'त्यसमा देश एकजुट छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।