चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले बालिका बचत कार्यक्रम सुरु गरेको छ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाले एक कार्यक्रमकाबीच बालिकाका अभिभावकलाई चेक हस्तान्तरण गरी बालिका बचत कार्यक्रम सुरु गरिएको हो।
यसै आर्थिक वर्ष २०७५ साउनदेखि गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाबाट सुत्केरी गराइएको २३ जना बालिकाको अभिभावकलाई गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जनही १० हजारको चेक हस्तान्तरण गरेकी हुन्।
गर्भमै भ्रुण हत्या गर्ने प्रवृतिलाई अन्त्य गर्न र छोरा र छोरीबीचको भेदभावको अन्त्य गर्न सहयोग पुर्याउने उदेश्य सहित बालिका बचत कार्यक्रम सुरु गरिएको गाउँपालिकाकी अध्यक्ष गुरुङले बताइन्।
गत बर्ष स्वाथ्यचौकीमा जन्मिएका शिशुमध्ये २७ छोरी र १ सय छोरा रहेका थिए। इच्छुक संघसंस्था वा कुनै पनि व्यक्तिले विपन्न परिवार विशेष गरी चेपाङ तथा दलित समुदायका बालिकाका लागि खातामा रकम सहयोग गर्न सकिने अध्यक्ष गुरुङले बताइन्।
कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ लाखको बजेट व्यवस्था गरेको छ।
यस आर्थिक वर्षको साउन देखि माघ सम्म गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाबाट २३ जना बालिकाको जन्म भएको स्वास्थ्य शाखा प्रमुख धनकुमार खड्काले जानकारी दिए। जसमध्ये ६ जना चेपाङ बालिका छन्।
गाउँपालिकामा ५ ओटा स्वाथ्यचौकी छन्। ती मध्ये ४ ओटामा वर्थिङ सेन्टर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।