काठमाडौं– कम्पनीमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका केही यातायात समितिले आफूखुसी सार्वजनिक यातायातको भाडा बढाउन थालेका छन्।
विभागले भाडा नबढाए पनि व्यवसायीले आफूखुसी बढाएको भनी बढी भाडा लिन थालेका हुन्।
बाबा गोकर्णेश्वर र सुन्दरीमाई यातायात कम्पनीका नाममा दर्ता भएका व्यवसायीले यसरी भाडा बढी लिएको यात्रुको गुनासो छ।
बाबा गोकर्णेश्वर सञ्चालन हुने रत्नपार्क–साँखु, रत्नपार्र्क–दक्षिणकाली मार्गमा अन्य यातायातले भन्दा बढी लिइरहेको यात्रु रामचन्द्र सिम्खडाले बताए। रत्नपार्कबाट थलीसम्म बज्रयोगिनीलगायत अन्य कम्पनीका सवारीले रु २५ भाडा लिने गरेकामा बाबा गोकर्णेश्वरले रु ३० लिन्छ।
साँखुसम्मको भाडा पनि अन्य सवारीको भन्दा रु पाँच बढी लिने गरेको उनले बताए।
यसैगरी सुन्दरीमाई यातायात समितिले भने फागुन ७ गतेदेखि भाडा बढाएको भन्दै आफूखुसी भाडा लिन थालेको छ। यसअघि रत्नपार्क–सुन्दरीजलको भाडा रु २४ तोकिएकामा फागुन ७ गते बढाएको भन्दै रु छ बढी अर्थात् रु ३० असुल्न थालिएको यात्रु सविना घिमिरेले बताइन्।
विभागले असोज ७ गतेपछि भाडा बढाएको छैन। कम्पनीका कार्यालय प्रमुख उपेन्द्र न्यौपाने भने विभागले असोज ७ गते गरेको भाडा वृद्धिकै आधारमा फागुन ७ गते समायोजन गरिएको दाबी गरे।
असोजदेखि फागुन ७ गतेसम्म सुन्दरीमाई यातायातले तोकिएको भाडा रु २४ भए पनि रु २५ लिएर यो मार्गमा सवारी चलाउँदै आएको थियो।
विभागको वेबसाइटमा अहिले पनि असोज ७ गतेपछि भाडा नबढाइएको उल्लेख छ। यस वर्ष असोज ७ गते पनि दसैंको अग्रिम भाडा खोल्नुपूर्व व्यवसायीले दिएको दबाबका कारण भाडा वृद्धि भएको थियो।
सुन्दरीमाई यातायात कम्पनीले बेलुकी ८ बजेपछि विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई ४५ प्रतिशत छुट पनि नदिएको यात्रु घिमिरेले गुनासो गरे।
सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीमा सवारीले टिकट दिएर यात्रा गराउनुपर्ने उल्लेख भए पनि यो व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन।
उपभोक्ता मञ्चका उपाध्यक्ष रोशन पोखरेल ऐनमा भएको यातायात निरीक्षकको व्यवस्था विभागले नगर्दा यातायात क्षेत्रका धेरै समस्या समाधानमा भन्दा जटिल बन्दै गएको बताउँछन्।
ऐन बनेको २६ वर्षसम्म पनि कार्यान्वयन नहुँदा यात्रु मर्कामा पर्ने गरेको उनले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।