रत्ननगर, चितवन- पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितका घर निर्माणका लागि जापानबाट रु चार लाख सहयोग प्राप्त भएको छ। जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले शनिबार सो रकम हस्तान्तरण गरेको हो।
चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा भएको कार्यक्रममा यहाँका १० घर बाढी प्रभावितको घर निर्माणका लागि रु चार लाख सहयोग भएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले विदेशमा रगत र पसिना बगाएर कमाएको रकमबाट केही कटाएर बाढीपीडितलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन्।
रकम हस्तान्तरण कार्यक्रममा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत यहाँका १० घरलाई जापानबाट आएको सहयोग हस्तान्तरण गरेको जानकारी गराए। अर्को चरणमा अन्य देशबाट संकलित रकम दक्षिण चितवनको माडीका बाढी प्रभावितहरुलाई सहयोग गर्ने उनको भनाइ छ।
गएको साउन २८ गते आएको बाढीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १३, २३, २७ र २८ मा बढी क्षति पुर्याएको थियो।
यहाँका बुद्धिराज महत्तो, तारा महत्तो, सीताराम महत्तो, उजेली कुमाल, श्याम कुमाल, विजय परियार, पूर्णाखर काफ्ले, तेज महत्तो, जीवन महत्तो र यमराज महत्तोको घर निर्माणमा सो रकम खर्च गरिने भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।