काठमाडौं- प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले न्यायालयले रेशम चौधरीलाई न्याय नगरेको बताएका छन्। टीकापूर काण्डमा दोषी देखिएका राजपा सांसद् रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको प्रति टिप्पणी गर्दै सांसद् त्रिपाठीले प्रतिनिधि सभाको बैठकमा यस्तो कुरा बताएका हुन्।
'हाम्रा अदालतले फैसला गर्छन्, न्याय गर्दैनन् भनेर एक जना पूर्वप्रधानन्यायाधीशले आजै मात्रै भन्नुभएको थियो। मलाई त्यो कुरा सही लाग्यो। फैसला मात्रै हुने रहेछ। न्याय नहुने रहेछ,' सांसद त्रिपाठीले भने।
यसैगरी उनले लामो समय बन्द रहेर संञ्चालनमा आएका चिनी मिल पनि बन्द हुने सूचना सार्वजनिक भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।
बैठकमा ढ्यापढ्यापे समयमा बोल्दै उनले बन्द हुने सूचना प्रकाशित गरेका चिनिमिलमाथि अबिलम्ब हस्तक्षेप गरी संञ्चालनमा ल्याउन सरकारसंग माग गरेका हुन्।
डेढ महिना पछि संञ्चालन भएका चिनी मिलहरु पुनः बन्द हुने सूचना सार्वजनिक भएको भन्दै उनले ती मिलमाथि हस्तपक्षेप गरी संञ्चालनको व्यवस्था मिलाउन नसके हजारौं किसान उखु जलाउन बाध्य हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
उखु किसानका लागि सरकारले घोषणा अनुदानको पैसा किसानको हातमा नपुगेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराएका थिए।
सरकारले सम्बोधन नगरेकाले सांसदहरुले दर्ता गराएका सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव थन्किएको भन्दै संसदको प्रभावकारितामाथि प्रश्न उठाए।
कृषि उपजको मूल्य निर्धारण आयोगको गठन गरि त्यसले निष्पक्ष रूपमा कृषि उपजको मूल्य निर्धारण गरेपछि सरकारले समर्थन मूल्य घोषणा गरोस् आफूले संकल्प प्रस्ताव दर्ता गराएको भएपनि सरकारले जवाफ दिन तयार नभएकाले प्रस्ताव त्यसै थन्केर बसेको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।