काठमाडौं- कैलाली प्रहरीले अवैध सुन र चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ।
बुधबार राति लम्की चुहा नगरपालिका ३ चिसापानी प्रहरी चेक पोस्टबाट दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ बस्ने ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका ५ की २५ वर्षीया सीताकुमारी चौधरी रहेका छन्।
चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सैजुको बा१९च ७४१३ नम्बरको कारबाट दुई किलो दुई सय ३२ ग्राम सुन र चाँदीका सरसामान बरामद गरिएको बिहीबार पत्रकार सम्मेलन गरी कैलाली प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए।
पक्राउ परेका सैजु निलम सुन चाँदी पसलका व्यापारी हुन् भने चौधरी सोही कारमा सवार रहेकी थिइन्।
कैलाली प्रहरीले कारबाट दुई सय ३२ ग्रामको सुन जस्तै देखिने टुक्रा १२ थान, चाँदीको जस्तो बडर भएको काठको फ्रेम ४३ थान, टिकादानी १२, करुवा १० थान, आचमनी ३२ थान, नगसहितको औठी १८ थान, सतपाला सात थान, पन्चपाक ३२ थान बरामद गरेको जनाएको छ।
बयानका क्रममा उनीहरुले ती सामान काठमाडौंबाट ल्याएको बताएको प्रहरी प्रमुख तिमिल्सेनाले बताए।
‘बरामद सामानमध्ये एक किलोग्राम सुनको मात्र बिल भेटिएको छ,’ उनले भने, ‘अन्य सामानको बिल भने देखिएको छैन।’
प्रहरी प्रमुख तिमिल्सेनाले बरामद सामानसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिमाञ्चल कार्यालय कोहलपुर बाँके पठाइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।