दाङ- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको राप्ती बन्दको कारण आज बिहानैदेखि त्यसको प्रभाव परेको छ। मुख्य बजारमा रहेका सम्पूर्ण पसल बन्द, शिक्षण संस्था र सवारी साधन पनि पूर्ण रुपमा बन्द रहेका छन्।
बन्दका कारण साविक राप्तीका रोल्पा, सल्यान, प्यूठान, रुकुम र दाङ प्रभावित भएको छ।
बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने काठमाडौबाट आउने रात्रि बसहरुलाई स्कटिङ गरी गन्तव्यमा पठाएको प्रहरीले जनाएको छ। बन्दका कारण लामो तथा छोटो दूरीमा सञ्चालन हुने यातायातका साधन पनि पूर्णरुपमा ठप्प छन्।
विप्लव नेतृत्वको नेकपाले गिरफ्तार नेता कार्यकर्ताको रिहाइको माग गर्दै नेकपा राप्ती ब्युरोले बन्द आव्हान गरेको हो। राप्ती ब्यूरो इञ्चार्ज केशबहादुर बाँठा 'सुवास'ले जारी गरेको विज्ञप्तिमा संगठन सुदृढ तथा विस्तार अभियानमा जुटिरहेका देशैभरि र राप्तिका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा आफ्ना कार्यकर्ता गिरफ्तार, धरपकड, कुटपिट गरिएको भन्दै विरोध गरिएको छ।
रोल्पा, दाङ लगायतका जिल्लाहरुमा फागुन २० गते नेकपा रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लालबहादुर विक, नृतेन्द्र सेन तथा फागुन २१ गते सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमस्थलबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गिरफ्तार गरिएको र बिना सर्त रिहा गर्न विज्ञप्तिमा माग गरिएको छ।
बन्दका कारण राेल्पामा पनि लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द छन्। बिहानी कक्षाका लागि मावि र कलेज गएका विद्यार्थी फर्किएका छन्। सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन्।
प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरमा भएकाे सहिद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ। यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।