चिप्लेढुङ्गा- 'लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस्। दिदी अङ्गुर लानुहुन्छ?'
बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन्।
'कति हो अङ्गुरकाे?'
'किलोको १५० हो, १४० मा लानुस्।'
ग्राहक महिलाले एक किलो अङ्गुर किनिन्। उनले किलो अलि नपुगेको भन्दै राम्रोसँग जोखेर दिन आग्रह गरिन्। तर, व्यापारी महिलाले चिनियाँ हाते काँटा देखाउँदै भनिन्, 'ल हेर्नुस् पुगेको छ।'
व्यापारीले पुगेको छ भन्दै ढिपी गरेपछि ग्राहक महिलाले बाटोछेउ पसलमा रहेको डिजिटल तराजुमा लगेर जोखिन्। अङ्गुर जम्मा ८५० ग्राम मात्र थियो।
'दिदी अङ्गुर एक किलो पुगेको छैन।'
'पुर्याएर दिएको किन नपुग्ने?', उल्टै प्रश्न व्यापारी दिदीको।
ग्राहक महिला भन्दै थिइन्, 'सस्तो दिएको नाममा यसरी ठग्न त भएन, बरु मूल्य जति हो त्यति लिनुस्, यसरी ठगेर व्यापार नगर्नुस्।'
'बाटाेमा बसेर सस्तोमा दिनुछ। किचकिच गर्छन्, किलो खोज्नेले पैसा पनि बढी दिनु नि', व्यापारी महिलाले आक्राेशमिश्रित आवाज मिसाइन्।
महेन्द्रपुल सडकपेटीमा फलफूल बेच्नेसँग पनि ग्राहकको उही गुनासो थियो, 'किलो पूरा गरेर दिनुस् है। यो काँटामा सय/डेढसय ग्राम पुग्दैन।' छेउमै तरकारी बेच्ने व्यापारी महिलाले भनिन्, 'यो सानो चाइनिज काँटामा जोखेर फलफूल किन्नेहरूको सधैँ गुनासो हुन्छ। आफूहरूले डिजिटल तराजुबाट तरकारी बेच्ने गरेकाले ग्राहकको जोखाइमा गुनासो हुँदैन।'
पोखराका विभिन्न प्रमुख चोक एवम् गल्लीका सडकपेटीमा डोको र क्रेटमा फलफूल बेच्नेहरूले ग्राहकलाई सस्तोको प्रलोभनमा पारेर किलोमा ठग्नु आजकाल सामान्य विषय भइरहेको छ।
खुल्लमखुला काँटामा ठग्नेलाई कहीँकतैबाट कारबाही नहुँदा उनीहरूको मनोबल झनै बढेको देखिन्छ। कोही ग्राहकले बोलीहाले व्यापारी नै एकजुट भएर जाइलाग्ने गरेको स्थानीय किराना पसल व्यवसायी गङ्गा सुनार बताउँछिन्। 'चोकमा धेरै फलफूल व्यवसायी छन्। नगर प्रहरीले हटाउने हुँदा लुकीछिपी व्यापार गर्नुपर्ने सास्ती पनि छ। फेरि प्रहरी प्रशासनको आँखा छलीछली ग्राहकलाई ठग्न पनि खप्पिस छन्।'
सचेत ग्राहक किलो नपुगेको भन्दै फलफूलको झोलै फालेर झगडा गरेर हिँड्ने गरेको थुप्रै दृश्य आफूले देखेको सुनारले बताइन्।
उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइराला नियमन निकायको लाचारीका कारण उपभोक्ता विभिन्न माध्यमबाट ठगिन पुगेको बताउँछन्। 'सस्तो र महँगोको कुरा होइन, जति मूल्य भनेर उपभोक्ता किन्न तयार भएका छन्, त्यति मूल्यमा किलो पुर्याएर दिनुपर्छ।'
सचेत उपभोक्ताले यसविरुद्ध उजुरी दिने हो भने कारबाही हुने कोइरालाले प्रष्ट पारे।
कास्कीमा झण्डै ४० हजार हाराहारीका व्यवसायी छन्, तर जम्माजम्मी २०/२२ हजारले मात्रै व्यवसाय दर्ता गरेका छन्। दर्ता नगरेका व्यापारीको नापतौलका साधनकाे जाँच कहीँ कतैबाट हुँदैन, अनि ठग्ने व्यवसाय फस्टाइरहेको उनको भनाइ छ।
'हामी डोकोमा फलफूल बेच्नेप्रति सहानुभुति राख्छाैं, तर उनीहरूले कानुन नै हातमा लिएर मनपरी गर्छन्। यसले नराम्रो अभ्यासको विकास हुन्छ। सचेत उपभोक्ताले नापतौल र मूल्यप्रति चनाखो भएर आवाज उठाउनुपर्छ', कोइराला बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।