नयाँ दिल्ली- भारत र पाकिस्तानको सीमा क्षेत्रमा बुधबार अबेरसम्म गोली हानाहान भएकाे भारतीय पक्षले जनाएको छ।
भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताए।
उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन्। गोली हानाहान भए पनि मानवीय क्षति नहुनेतर्फ उच्च सतर्कता अपनाइएको सैन्य अधिकारीहरूले बताए।
'समग्र अवस्था हेर्दा पहिलेको भन्दा अवस्था धेरै शान्त छ', भारतीय सेनाद्वारा जारी वक्तव्यमा उल्लेख छ।
भारत प्रशासित काश्मिरको पुलवामामा केही दिन पहिले भएको आतङ्कवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच फेरी तनाव बढेको हो।
हमलामा चरमपन्थी सङ्गठन 'जैश ए मोहम्मद'को हात रहेको दाबी गर्दै आएकाे भारतले त्यसमा पाकिस्तानी सरकारकै संलग्नता रहेको पनि बताउँदै आएकाे छ।
साेही दाबीअनुसार भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले जवाफी कारबाही गर्दा भारतको एउटा लडाकू विमान खसालिदिएको थियो। त्यही विमानमा रहेका एक जना चालकलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो।
तर ती विमान चालकलाई विनासर्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारततर्फ नै फिर्ता पठाएपछि तनावपूर्ण अवस्था पहिलाको भन्दा कम भएको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।