वासिङटन – संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने, संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने जानकारी दिएका छन्।
उनले निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको पनि बताए।
‘फक्स बिजनेस नेटवर्क’सँगको अन्तर्वार्तामा उनले उत्तर कोरिया यसअघिका सहमतिका साथै निशस्त्रीकरणको विषयमा कत्तिको गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको बताए।
अमेरिका र उत्तर कोरियाबीच गतवर्ष भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको थियो।
तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ। तर आफूहरु सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाई छ।
सो अन्तर्वार्तामा उनले भने, ‘यदि उत्तर कोरिया विगतको सो सहमतिको पक्षमा देखिएन भने अथवा उ निशस्त्रीकरणका लागि तयार भएन भने उसमाथि लगाइएको आर्थिक नाकाबन्दी हट्दैन, हट्ने छैन।’
उत्तर कोरियालाई दबाव दिने काम अघि बढ्ने नै छ भन्दै राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनले उत्तर कोरियाले आफूले यसअघि गरेका प्रतिबद्धताहरु पूरा गर्ने पक्षमा लागेन भने उसमाथि ठूलो दबाब अमेरिकी पक्षबाट हुनेछ र यसले आगामी दिनमा पनि उनीहरुलाई सहमतिको टेबलमा आउन बाध्य बनाउने छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको वार्ता भएको थियो।
तर सो शिखर वार्तामा भने कुनै पनि सहमति नभएको बताइएको छ । उनीहरुबीच कुनै सहमति नभएको भए पनि वार्ता भने सकारात्मक र प्रगतिउन्मुख रहेको अधिकारीहरुको भनाई छ।
उनीहरुबीच पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । सो वार्तामा उत्तर कोरियाले निशस्त्रीकरणका लागि प्रतिबद्धता अघि सारेको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।