बेइजिङ– संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन्।
चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट गरेको छ।
मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी व्यापार वार्तामा केही विवादित विषयमा भने सहमति भइसकेको बताएको छ।
दुई देशबीच जारी व्यापार युद्धलाई अन्त्य गर्नेगरी भएको वार्ता सकारात्मक रुपमा अघि बढेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वास व्यक्त गरेको भोलिपल्ट चीनको यस्तो भनाइ आएको हो।
राष्ट्रपति ट्रम्पले नयाँ व्यापार सम्झौतामा चिनियाँ राष्ट्रपतिसँग चाँडै हस्ताक्षर गर्न लागेको पनि बताएका छन्।
चिनियाँ व्यापार मध्यस्थकर्ता एवम् उपप्रधानमन्त्री लिउ हे वासिङ्टनमा व्यापार वार्ता गरी गत साता बेइजिङ फर्केका छन्। वाणिज्य मन्त्री झोङ शानले उपप्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, 'वासिङ्टनको वार्ता प्रक्रिया अत्यन्त कठिन र थकानयुक्त रहेको छ।'
मन्त्री झोङले छलफलका विषयहरू निकै महत्वका रहेकामा जोड दिँदै चीनको वार्ता टोलीले दिन, रात काम गर्नु परेको जानकारी दिए। 'दुई दिनका लागि पूर्व निर्धारित छलफल अरु दुई दिन थपियो। यो द्विपक्षीय छलफल निकै प्रभावकारी थियो। करिब ९० दिनदेखि चलिरहेको यो व्यापार छलफलबाट महत्वपूर्ण नतिजा निस्कने अपेक्षा गरिएको छ।'
'अहिले पनि दुवै मुलुकबीच वार्ता जारी छ किनभने अझै पनि धेरै काम गर्न बाँकी छ,' मन्त्री झोङले बताए।
उनले कुनै सम्झौतामा पुग्नका लागि दुवै पक्षले निकै होसियारीपूर्वक मिलेर कार्य गर्नुपर्ने खाँचो भएको बताए।
चीनको बैंकिङ नियामक आयोगका प्रमुखले ६ वटा क्षेत्रमा महत्वपूर्ण सहमति भएको बताएका छन्। आयोगको भनाइलाई उदृत गर्दै स्थानीय वेभसाइट 'दि पेपर' प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति संरक्षण, गैरकर अवरोध, कृषि, सेवा र परिवत्र्य दरमा दुई देशबीच सहमति भइसकेको जनाएको छ।
'यो प्रक्रिया निकै महत्वको छ। मेरा विचारमा यसमा थप व्याख्या गरिनेछ, र यसमा मलाई कुनै शंका छैन,' गुओ शुकिङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।