राजविराज– सप्तरीमा एकै पटक ५१ जना सहिदका परिवारलाई सम्मान गरिएको छ।
सहिद सप्ताहको अवसर पारी ‘सहिद जन–स्मृति प्रतिष्ठान’ ले सदरमुकाम राजविराजमा एक कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरेको हो।
कार्यक्रममा माओवादी जनयुद्ध, मधेश आन्दोलन तथा विभिन्न समयमा भएका राजनितिक परिवर्तन र अधिकार प्राप्तिका आन्दोलनमा ज्यान गुमाएका सहिदका परिवार सम्मानत भए।
नेकपाका नेता तथा राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवान, प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, नेकपाका प्रदेश समिति सदस्य महेश यादव, पूर्व सांसद असर्फी सदा, मानपुर चौधरी, अग्रज पत्रकार शिवहरी प्रसाद भट्टराई लगायतले उनीहरूलाई सम्मान गरे।
सहिदहररूकै कारण मुलुकमा प्रजातन्त्र हुँदै लोकतन्त्र र गणतन्त्रको स्थापना भएकोे प्रतिष्ठानका अध्यक्ष उमेशकुमार यादवले बताए।
‘सहिदका परिवारलाई राज्यले उचित सम्मान र व्यवस्थापन गर्न सकेन, त्यसकारण सम्मान तथा भेटघाटका लागि हामीले यो अवसर सिर्जना गरेका हौँ,’ उनले भने।
सहिद परिवार मुलुकको शासन व्यवस्थाका निम्ति आधारशीला भएको यादवको तर्क छ। ‘सहिद र उनीहरुका परिवार मुलुकको शासन व्यवस्थाका ‘जग’ हुन्। जग कमजोर भए घर कमजोर हुन्छ, राज्यले यस विषयमा सोच्नुपर्छ,’ यादवले भने।
तत्कालीन एनेकपा माओवादीबाट संविधान सभा सदस्य र सिँचाईमन्त्री समेत बनेका यादव पछिल्लो समय राजनीति र सामाजिक काममा सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।