पोखरा- प्याराग्लाइडिङ उडान गरेबापतको कर नतिरेपछि बुधबारदेखि पोखरामा उडान गरिरहेका ५५ कम्पनी बन्द हुने भएका छन्। पटक-पटक सूचना जारी गर्दा समेत करको दायमा नआएकाले ती कम्पनीलाई उडान गर्न महानगरले रोक लगाएको हो।
साविक व्यवस्था अनुसार गाविसमा दर्ता भएकामध्ये ५५ प्याराग्लाइडिङ कम्पनीले साराङकोट क्षेत्र पोखरा महानगरमा आएपछि हालसम्म कर नतिरेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए।
'५६ प्याराग्लाइडिङ कम्पनी दर्ता भएका छन्। ती मध्ये एक कम्पनीले मात्र कर तिरेको छ,' उनले भने, 'कर तिर्ने कम्पनीले प्याराग्लाइडिङ उडान भर्न पाउँछन्। कर नतिर्ने कम्पनीका उडान महानगरले रोक्का गरेको छ।' बुधबारसम्मका लागि कर तिर्ने समयसीमा दिइएको उनले बताए।
केही दिनयता प्याराग्लाइडिङ दुर्घटनामा पर्ने क्रम बढेसँग महानगरले करको दायरामा ल्याउने प्रक्रिया अघि बढाए पनि सुरक्षाका विषयमा भने कुनै तयारी गरेको छैन। 'प्याराग्लाइडिङको सुरक्षित उडानका विषयमा पनि महानगर गम्भीर भएको छ। यसको अध्ययन महानगरले सुरु गरेको छ,' उनले भने।
सुरक्षाका यस सम्बन्धमा पनि अध्ययन भइरहेको बताएका प्रवक्ता नेपालीले यस विषयमा के कति प्रगति भयो भन्ने चाँहि उल्लेख गरेनन्।
पोखरामा ३ दिनभित्र ४ वटा प्याराग्लाइडिङ उडान दुर्घटनामा परी २ जनाको मृत्यु हुनाका साथै अन्य २ घाइते भएका छन्।
यो पनि पढ्नुहोस्ः
पोखरामा लगातार ४ प्याराग्लाइडिङ दुर्घटना, आज रसियाली नागरिकको मृत्यु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।