काठमाडाैं- पाेखरामा ३ दिनभित्र ४ वटा प्याराग्लाइडिङ दुर्घटनामा परी २ जनाकाे मृत्यु हुनाका साथै अन्य २ जना घाइते भएका छन्।
आज सराङकाेटबाट साेलाे उडान भर्ने क्रममा रसियाली प्याराग्लाइडर बिएमआई डेभिलकाे मृत्यु भएपछि ३ दिनकाे बीचमा मृत्यु हुनेकाे संख्या २ पुगेकाे हाे।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार सराङकाेटबाट बिहान ११ बजेर ३५ मिनेटमा प्याराग्लाइडिङ दुर्घटना भएकाे हाे। 'उडान भर्ने बित्तिकै प्याराग्लाइडिङ दुर्घटनामा परेकाे हाे। गम्भीर घाइते रसियाली नागरिकलाई उद्दार गरी पाेखराकाे मेट्राे सिटी अस्पतालमा लगिएकाे थियाे। उनकाे उपचारका क्रममै निधन भएकाे हाे', उनले भने।
यसअघि गत आइतबार अवतरणका क्रममा प्याराग्लाइडिङ फेवा तालमा खस्दा रोमानियाका प्याराग्लाइडर इडिइ सिस्जरको मृत्यु भएको थियो। प्रहरीका अनुसार अवतरणका क्रममा हावाकाे चापकाे सन्तुलन नमिल्दा प्याराग्लाइडिङ दुर्घटनामा परेकाे थियाे।

अस्पताल आइपुग्नु अगावै ४० वर्षीय सिस्जरको मृत्यु भएको थियाे। उनले ब्लु स्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर साेलाे उडान भरेका थिए।
रोमानियाबाट ९ जनाको टोली फेब्रुअरी २३ तारिखमा नेपाल आएको थियो। उनीहरुले फेब्रुअरी २३ देखि मार्च ११ सम्मका लागि उडान भर्ने अनुमति दिएका थिए।
साेमबार पनि दुई वटा प्याराग्लाइडिङ दुर्घटनामा परेका थिए। साे क्रममा २ जना विदेशी नागरिक घाइते भएका थिए।
अनुमति लिएको भन्दा फरक ठाउँबाट उडान गरेका उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेका दुबैकाे हाल पाेखरामै उपचार भइरहेकाे छ।
प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पाेल्यान्डका ३७ वर्षीय प्याराग्लाइडर जानुज क्यारल दुर्घटनामा परेका हुन्। उडानका क्रममा बिजुलीकाे तारमा ठाेक्किएका ती पाइलटलाइ करेन्ट लाग्दा भुइँमा बजारिन पुगेका थिए। उनकाे बायाँ हात जलेको थियाे। उनलाई स्थानीयले उद्दार गरी मणिपाल शिक्षण अस्पतालमा पुर्याएका थिए।
त्यस्तैगरी मादी गाउँपालिका-७, छा चाेकमा ६३ वर्षीय रसियाली नागरिक इलगिज यागुदिन पनि उडानका क्रममा दुर्घटनामा परेका थिए। हावाकाे चापका कारण असन्तुलन भई यागुदिनकाे प्याराग्लाइडिङ रुखमा अल्झिएकाे थियाे। स्थानीयकाे सहयाेगमा उनलाई २ घन्टापछि उद्दार गरिएकाे थियाे।
प्रत्येक दिन प्याराग्लाइडिङ दुर्घटनामा पर्न थालेपछि कसरी सुरक्षा अपनाउन सकिन्छ भन्ने बारेमा आफूहरु छलफल थालेकाे सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।