पोखरा- आइतबार बिहान पोखराको फेवातालमा खसेको प्याराग्लाइडिङमा रहेका प्याराग्लाइडर रोमानियाका नागरिक इडिई सिस्जरको मृत्यु भएको छ।
अस्पताल आइपुग्नु अगावै ४० वर्षीय सिस्जरको मृत्यु भएको उनको उपचारमा संलग्न तथा मेट्रोसिटी अस्पतालको आइसियू विभागमा कार्यरत डा गोविन्दराज पाण्डेले बताए। अस्पताल ल्याउँदा उनकाे मुटुको चाल बन्द भइसकेको र शरीरका अन्य अंगले पनि काम गर्न छोडिसकेको डा पाण्डेले जानकारी दिए।
प्याराग्लाइडिङ खसेको १० मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो। त्यसपछि उनलाई उद्धार गरी पोखराको मेट्रोसिटी अस्पताल लगिएको थियो।
साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको थियो।
तालको मध्यभागमा खसेको प्याराग्लाडिङको उद्धारका लागि ५ वटा डुंगा पुगेका थिए। प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको थियो।
उनले ब्लु स्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर एक्लै प्याराग्लाडिङ उडान भरेका थिए ।
रोमानियाबाट ९ जनाको टोली २३ तारिखमा नेपाल आएको थियो। सोही टोलीका एक सदस्य सिस्जरको दुर्घटनामा मृत्यु भएको हो।
यो पनि पढ्नुहोस्ः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।