काठमाडौं- राष्ट्रियसभाले जीवनाशक विषादि व्यवस्थापन विधेयक र लेखा परीक्षण विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकले दुवै विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापनमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालको तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त जीवनाशक विषादि व्यवस्थापन विधेयकलाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाईयोस् भनी गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मति पारित गरेको हो।
अर्थमन्त्री डा खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लेखा परीक्षण विधेयक-२०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाईयोस् भनी गरेको प्रस्तावलाई पनि बैठकले सर्वसम्मति पारित गरेको हो।
बैठकमा राष्ट्रियसभा नियमावली २०७५ को संशोधन मस्यौदा प्रतिवेदन पेस भएको छ।
राष्ट्रियसभा नियमावली २०७५ संशोधन मस्यौदा समितिका सदस्य दिल कुमारी रावल थापा पार्वतिले समितिको प्रतिवेदन बैठक समक्ष पेस गरेकी हुन्।
गत पुस १३ गते बसेको राष्ट्रियसभा बैठकले ९ सदस्यीय नियमावली मस्यौदा संशोधन समिति गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।