अलाबामा– अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ।
प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन्। आँधीले धनजनको ठूलो क्षति भएको छ।
'पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ। दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,' ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले बताए।
जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा आइतबार ड्रोन उडाएर विवरण सङ्कन गरिएको बताए। सोमबार व्यापक खोज तथा उद्धारको कार्य गरिने उनले जानकारी दिए।
जोन्सले आँधीबाट मानिसका घरहरूमा व्यापक क्षति पुग्नुका साथै घरले थिचेर धेरै मानिस घाइते भएको बताए।
उनले तत्काल उद्धार गरिएका सयौं मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही व्यक्ति निकै गम्भीर अवस्थामा रहेको जानकारी दिए।
राष्ट्रिय मौसम निकायले निकै शक्तिशाली आँधीले अलाबामा करिब एक किलोमिटरको क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो।
आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्धारकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन गरिएका थिए।
उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।