वासिङटन, संयुक्त राज्य अमेरिका- फेडरल रिजर्भको गलत मौद्रिक नीतिका कारण अमेरिकी आर्थिक वृद्धिदरमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन्।
उनले भने, 'मौद्रिक नीतिमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा गरेको वृद्धिका कारण डलरको अवस्था बलियो भएको देखिएको तर आर्थिक वृद्धिदर कम देखिएको छ।'
‘कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स’ मा फेड रिजर्भका अध्यक्ष जेरोम पावेललाई सङ्केत गर्दै ट्रम्पले भने, 'हामीकहाँ एक जना महासय हुनुहुन्छ जसले ब्याजदर बढाउन मन पराउनुहुन्छ।'
'फेडलाई मात्रात्मक रूपमा बलियो बनाउन मन पराउने सज्जनवृन्द हामीसँग हुनुहुन्छ। उहाँले फेडमा रहेर डलरलाई अत्यधिक बलियो बनाउन चाहनुहुन्छ, सम्मेलनमा ट्रम्पले भने।
'अमेरिकी अर्थतन्त्रमा राम्रो सुधार भएको छ। तर फेडको मौद्रिक नीतिका कारण थप राम्रो हुन सकेको छैन,' उनको भनाइ थियो।
'तपाईँ कल्पना गर्नसक्नुहुन्छ कि यदि हामीले ब्याजदर जहाँ थिए त्यहीँ पुर्यायौँ भने यहाँ कुनै मुद्रास्फीति हुनुपर्ने कारण रहँदैन। के मात्रात्मक कडापनलाई कम गर्न सक्दैनौँ,' ट्रम्पले भने।
'डलरलाई मजबुत बनाउन पर्छ। तर हाम्रो मुलुकलाई महान् बनाउने डलरको चाहना अमेरिकी जनताको हो। नकि डलर त्यति बलियो होस जसले हाम्रा योजनालाई प्रभावित गरोस् र यसको लाभ अन्य मुलुकले लिन नसकोस्,' उनको भनाइ थियो।
अमेरिकी राष्ट्रपतिले फेडमाथि पटक पटक ब्याजदर नबढाउन दबाब दिँदै आएका छन्।
यसका लागि उनले फेड अध्यक्षलाई हटाउने वैधानिक बाटोसमेत खोजेको केही महिना पहिले सञ्चारमाध्यमहरूमा व्यापक चर्चा चलेको थियो।
तर फेड प्रमुख पावेलले केन्द्रीय बैंकलाई राजनीतिक दवावबाट टाढा राख्ने पटक पटक प्रतिवद्धता जाहेर गर्दै आएका छन्।
पावेलले बुधबार अमेरिकी सिनेटको वित्तीय सेवा समितिमा फेडले छोटो समयको राजनीतिक चासोलाई नभई दीर्घ सोचबाट अघि बढ्ने जानकारी गराएका थिए।
फेडको नीतिगत निर्णय ‘तथ्याङ्कमा आधारित’ हुने र आर्थिक अवस्था र परिणामबाट विकशित नयाँ सूचनालाई आधार बनाइने पावेलको तर्क थियो।
सन् २०१८ मा फेडले चार पटक ब्याजदरमा हेरफेर गरेको वा वृद्धि गरेको थियो।
फेडको लक्ष्य अहिलेको २.२५ प्रतिशत ब्याजदरलाई २.५० मा पुर्याउने रहेको बताउने गरिएको छ।
जनवरीमा दुई प्रतिशतबाट ब्याजदरलाई बढाई २.२५ प्रतिशत पुर्याइएको थियो। -रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।