काठमाडौँ- विद्युत लाइन छैन भन्दा छ, तर पङ्खा, बत्ती र पानी तान्ने मोटर चलाउनसमेत पाइँदैनथ्यो। बत्ती भए पनि टुकी बाल्नुपर्ने अवस्था थियो। धेरै उपभोक्ता हैरान थिए, तर बत्तीको बिलसमेत साविककै आउने गरेको थियो।
पटकपटक लाइन ‘ट्रिप’ हुने र लाइन हुँदा पनि कम ‘भोल्टेज’का कारण समस्या भोग्दै आएका झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक, राजगढलगायत स्थानमा समस्या पर्दै आएको थियो। कम भोल्टेजका कारण बत्ती बालेपनि पछिल्लोपटक नेपाल विद्युत् प्राधिकरणले सो क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउने लक्ष्यका साथ घैलाडुब्बा सबस्टेशन आजदेखि सञ्चालनमा आएको छ।
नेपाल सरकार, प्राधिकरण र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको ३३/११ केभी घैलाडुब्बा सबस्टेशन सञ्चालनमा आएपछि झापाको सुरुङ्गालगायत क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार आएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशन सञ्चालनमा आएपछि लामो दूरी र ओभरलोडका कारणले पटक–पटक लाइन ट्रिप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण त्यस क्षेत्रमा बत्ती, पङ्खा, मोटरलगायत विद्युतीय उपकरण नचल्ने समस्या समाधान हुने बताए। उनले भने, 'झापाका त्यस क्षेत्रको भोल्टेज सुधार हुन्छ, प्रणालीको चुहावट घट्छ र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्छ। स्थानीयलाई सहज रुपमा विद्युत् सेवासमेत दिन सकिन्छ।'
प्राधिकरणले अब अनारमनी सबस्टेशनबाट ३३ केभी वितरण लाइन हुँदै घैलाडुब्बा सबस्टेशनमा विद्युत् ल्याउने छ। घैलाडुब्बा सबस्टेशनबाट ११ केभी एउटा वितरण लाइनमार्फत घैलाडुब्बातर्फ र ११ केभीको अर्को लाइनमार्फत सुरुङ्गा क्षेत्रमा विद्युत् आपूर्ति गरिने इन्जिनियर शैलेस सापकोटाले जानकारी दिए।
हाल अनारमनीबाट ११ केभी वितरण लाइनमार्फत घैलाडुब्बा र सुरुङ्गातर्फका क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ। लामो दूरी र ओभरलोडका कारणले त्यस क्षेत्रमा पटकपटक लाइन ट्रिप हुने र लाइन भएको समयमा पनि भोल्टेज निकै कम हुने समस्याले उपभोक्ता आजित थिए।
घैलाडुब्बा सबस्टेशनबाट विद्युत् वितरण शुरु भएपछि उपभोक्ताले अविछिन्न रुपमा गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विद्युत्को पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ। मुलुकबाट विद्युत्भार कटौतीको अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आवमा ३० वटा ग्रीड र २० वटा वितरण सबस्टेशनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ।
चालु आवभित्रै ६०० सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन्। प्राधिकरणले एक वर्षमा १९ वटा ग्रीड र २० वटा वितरण सबस्टेशनको निर्माण सम्पन्न गरेको छ।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ।
यसका लागि प्राधिकरणले सबस्टेशनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेशन बनाउने लगायतका काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।