जनकपुरधाम- नेपाल सरकारले डेमु (डिजल इलेक्ट्रीफाई मोडेल) को रेल खरिद गर्न लागेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उक्त प्रविधिमा आधारित रेल खरिद गर्न फाईल पेस भइसकेको छ। यसका लागि क्याबिनेटमा फाइल पेस हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।
उक्त प्रविधिको रेल खरीदका लागि ९० देखि ९५ करोड रुपैयाँसम्म लाग्न अनुमान गरिएको समेत उनले जानकारी दिए।
रेलको अगाडि र पछाडि दुई ईन्जिन हुने भएकाले यो रेल दुवै तर्फबाट चलाउन सकिने र पहिलेको जस्तो झन्झटिलो नहुने महानिर्देशक मिश्रको भनाइ छ।
यस रेलले एक हजार दुई सयदेखि एक हजार तीनसय जनासम्म यात्री बोक्न सक्ने छ।
अत्याधुनिक प्रविधिको डेमु रेल तीन सय किलोमिटरसम्मको यात्राको लागि उपयुक्त हुने उनको भनाइ छ।
आगामी वर्षको पहिलो या दोस्रो महिनाभित्र नेपाल रेल्वेले ट्रेन खरिद गरी रेल्वे सञ्चालन समेत गरिसक्ने लक्ष्य राखेको उनले बताए।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल लाईन मध्ये जयनगरदेखि कुर्थासम्मको रेलमार्ग पूर्ण तयार भइसकेको छ।
भारत सरकारकाे स्वामित्वमा रहेको इरकन ईन्टरनेशनल लिमिटेडले भारत सरकारको लगानीमा जयनगरदेखि बर्दिवाससम्म रेल ट्रयाक र स्टेसन निर्माण गर्न लागेको हो। जसमध्ये जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर लिक र स्टेशनहरु निर्माण गरिसकेको छ। जयनगरदेखि कुर्थासम्म तीन हल्ट र पाँच स्टेशन रहेको छन्।
इरकन इन्टरनेसनल लिमिटेडका अपर महाप्रबन्धक दिपक कुमारले पहिलो चरणको निर्माण कार्य सम्पन्न गरिसकेको र लिकमा ८० किलोमिटरको स्पिडमा ट्रायल समेत गरिसकेकाे बताए। उनले नेपालको लागि बनाइएको ट्रयाकमा सय किलोमिटर सम्मको अत्यधिक गतिमा रेल कुदाउन सकिने बताए।
रेल्वे क्रसिङ, सिग्नल, स्टेसन निर्माण तथा अन्य सबै कार्य सम्पन्न भइसकेको उनको दाबी छ।
सन २०१४ को मार्चदेखि निर्माण सुरु भएको नेपाल रेल्वेको पहिलो चरणको काम सम्पन्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।