काठमाडौं– सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फागुन १४ गते संसदमा पेस भएसँगै व्यवसायीहरूले त्यसलाई संशोधन गरिनुपर्ने बताएका छन्।
उक्त विधेयकमा आत्मनिर्भरउन्मुख डेरी क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न सकिने व्यवस्था गरिएको भन्दै डेरी उद्योगीहरूले संशोधनको माग राखेका हुन्।
नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले संयुक्त रुपमा विधेयकमा भएको व्यवस्थाप्रति विमति जनाएका छन्।
दुग्ध क्षेत्र स्वदेशी उद्योगबाटै आत्मनिर्भर हुन लागेका कारण विदेशी लगानी आवश्यक नरहेको भन्दै अमुल लगायत विदेशी डेरी उद्योग नेपालमा ल्याएर स्वेदेशी उत्पादनलाई धराशायी बनाउन खोजेको उनीहरूको भनाइ छ।
'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९' अनुसार घरेलु उद्योगमा विदेशी लगानी प्रतिबन्धित भए पनि विधेयकले घरेलु उद्योग भन्ने शब्दावली नै हटाएर व्यक्तिगत सेवा व्यवसाय भन्ने शब्दावली राखेको छ।
केही समयअघि भारतमा डेरी उत्पादन तथा बिक्री वितरण गरिरहेको बहुराष्ट्रिय कम्पनी अमुल नेपालमा भित्रिन लागेको भन्दै दुग्ध व्यवसायीहरूले विरोध जनाएका थिए।
व्यवसायीहरूको विरोधकै कारण अमुललाई तत्काल नेपालमा आउन नदिन सरकारलाई समेत दबाब परेको थियो।
विधेयकले दुग्ध उद्योगमा सजिलैसँग विदेशी लगानी ल्याउने बाटो खुलाई दिएपछि अमुललगायत कम्पनीहरुलाई नेपालमा लगानी गर्न सहज हुने ठानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।