बार्सिलोना– स्पेनको घरेलु फुटबल प्रतियोगिता कोपा डेल रेको उपाधिका लागि चार पटकको साविक विजेता बार्सिलोना र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार भएको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियाले रियल बेटिसलाई १–० ले हराउँदै बार्सिलोनासँगको भेट पक्का गरेको हो। यसअघि पहिलो लेग २–२ को बराबरी सकिएको थियो। दोस्रो लेगमा जित हात पारेसँगै भ्यालेन्सिया समग्रमा ३–२ ले अघि रहदै उपाधि नजिक पुगेको हो।
दोस्रो लेगमा भ्यालेन्सियाका लागि रोद्रिगोले निर्णायक गोल गरे। उनले खेलको ५६ मिनेटमा गरेको गोल भ्यालेन्सियालाई फाइनलमा पुग्न पर्याप्त बन्यो।
अब बार्सिलोना र भ्यालेन्सियाबीच आगामी २५ मेमा उपाधि भिडन्त हुनेछ।
यसअघि बार्सिलोनाले चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई समग्रमा ४–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। बुधबार भएको दोस्रो लेगमा बार्सिलोनाले रियलमाथि ३–० को जित हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।