काठमाडौं– भारत र पाकिस्तानबीच जारी विवादलाई लिएर चीनले प्रतिक्रिया जनाएको छ। चीनले सबै देशको ‘सम्प्रभुता’ र ‘भौगोलिक खण्डता’को सम्मान गरिनुपर्ने बताएको छ।
चिनियाँ विदेश मन्त्रालयले बिहीबार बेइजिङमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लु काङले चीन कुनै पनि देशको ‘सम्प्रभुता’ र ‘भौगोलिक खण्डता’को सम्मान गरिनुपर्ने कुरामा अडिग रहेको बताए।
‘सबै देशको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्छ भन्ने कुरामा चीनले विश्वास गर्छ,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको मर्म उल्लघंन गर्ने कुनै पनि अभ्यासको हामी विरोध गर्छौं।’
चीनको यस्तो भनाइ पाकिस्तान र चीनका विदेश मन्त्रीबीच भएको टेलिफोन संवादपछि आएको हो। बुधवार चिनियाँ विदेशमन्त्री वाङ् यी र पाकिस्तानी विदेशमन्त्री शाहा मोहमुद कुरेशीबीच टेलिफोन वार्ता भएको थियो।
प्रवक्ता लुले शान्ति प्रवर्द्धन र वार्ता सहजीकरणका लागि चीन दुवै देशसँग नजिकको सम्पर्कमा रहेको बताए। ‘चीन शान्ति र वार्ता सहजिकरणका लागि भर्खरै दुवै पक्षसँग नजिकको सम्पर्कमा छ,’ उनले भने, ‘दुवै पक्षले तनाव नबढोस् भन्ने चाहेका छौं भनिरहेका छन्। त्यसले दुवै देश भेट्न सक्ने छन् र मुद्धा मिलाउने छन् भन्ने हामीले विश्वास गर्छौं। चीनले उपयुक्त भूमिका खेल्ने छ।’
गत १४ फेब्रुअरीमा भारत प्रसाशित काश्मिरको पुलवामा आतकंवादी आक्रमणपछि ४० भारतीय सुरक्षाकर्मीको ज्यान गएपश्चात् भारत–पाकिस्तान सम्बन्धमा दरार सृजना भएको छ।
भारतले मंगलबार पाकिस्तानको काश्मिरस्थित बालाकोटमा हवाइ आक्रमण गरेको थियो। त्यसको जवाफी कारबाहीस्वरुप पाकिस्तानले बुधबार जम्मु–कश्मिरको राजौरी जिल्लाको नौशेरा सेक्टरमा हवाइ आक्रमण गरेको थियो।
पाकिस्तानी सेनाले आफ्नो हवाइ क्षेत्रमा प्रवेश गरेका दुई भारतीय लडाकु विमान खसालिदिएको दाबी गरेको छ। र, एक पाइलटलाई नियन्त्रणमा लिइएको दाबी पाकिस्तानी सेनाको छ।
भारतले पनि आफ्नो हवाइ सेनाको एकजना पाइलट बेपत्ता रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।