मेलबोर्न– पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवम् अस्ट्रेलियाका कार्डिनल जर्ज पेललाई दुई बालकमाथि यौन दुराचारको आरोपमा दोषी पाइएको छ।
बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन्।
अस्ट्रेलियाली न्यायाधीशहरूको समिति (जुरी) ले सर्वसम्मत् रुपमा पेल दोषी रहेको ठहर गरेको छ।
कार्डिनल पेलले सन् १९९० को दशकमा मेलबोर्नस्थित सेन्ट प्याट्रिक्स क्याथेड्रलमा दुई बालकविरुद्ध यौन आक्रमण गरेका थिए।
हाल ७७ वर्ष पुगिसकेका कार्डिनल पेलले त्यसबखत १२ र १३ वर्षका दुई नाबालकलाई यौन शोषण गरेको बताइएको छ।
अदालतको आदेशबाट जमानतमा रहेका कार्डिनल पेलले आफूमाथि लागेका आरोपहरूमा सत्यता नरहेको भन्दै आएका छन्।
भ्याटिकनका तर्फबाट तत्काल कुनै प्रतिक्रिया दिइएको छैन तर पेलले आफू निर्दोष रहेको बताउँदै आएका छन्।
'कार्डिनल जर्ज पेलले आफू निर्दोष रहेको र त्यसमा आफू अडिग रहेको बताउनुभएको छ,' कार्डिनलका वकीलका तर्फबाट जारी वक्तव्यमा भनिएको छ।
जुरीले गरेको फैसलाका विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदन गरिने वक्तव्यमा उल्लेख छ।
पेल विरुद्ध लगाइएका केही अरु आरोप पनि यसअघि फिर्ता लिइएका वा उन्मूक्ति दिइएका छन्।
पेलले दुर्वयवहार गरेका भनिएका एक बालकको सन् २०१४ मा मृत्यु भएको थियो। उनको परिवारका सदस्यहरूले पेलका कारण गहिरो दुःखमा परेका ती बालकको लागूऔषधको सेवनबाट मृत्यु भएको दाबी गर्दै आएका छन्।
दोस्रा पीडित व्यक्तिका तर्फबाट वकिलले जारी गरेको एक वक्तव्यमा जारी कानुनी प्रक्रिया निकै तनाबपूर्ण रहेको र यो अझै समाप्त नभएको बताइएको छ।
'अरु पीडितहरुझैं मैले पनि लज्जा, एकान्तपन, उदासी अनुभूत गरेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।