काठमाडाैं- विवेकशील साझा पार्टीले भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ।
विवेकशील साझा पार्टीकी प्रदेश ३ की संयोजक समिक्षा बास्कोटा नेतृत्वको टोलीले मंगलबार टंगालस्थित आयोगको कार्यालयमा पुगी अरबौंको भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान गरी तत्काल कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाएको हो।
आयोगका प्रवक्ता रामेश्वर दंगाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा आर्थिक अनियमितता र पदीय दुरुपयोगको घटनाको अनुसन्धानलाई थप सशक्त र प्रभावकारी बनाउन पनि आयोगसँग माग गरिएको छ। भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अयोगको ध्यानाकर्षण गराउँदै ध्यानाकर्षण पत्र बुझाइएको विवेकशील साझा पार्टी, काठमाडौं जिल्ला कार्य समितिका नेता चोकराज घिमिरेले जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन’ लगायतका प्लेकार्डसहित प्रर्दशनसमेत गरेका थिए।
विवेकशील साझा पार्टीले वाइडबडी विमान खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभांश कर, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा अर्बाैंको भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसलाई तत्काल कारबाहीको दायरामा ल्याउन आयोगलाई दबाब दिँदै आएको छ। नेता घिमिरले भ्रष्टाचार अन्त्य गर्न आयोगको अनुसन्धानको काममा आफ्नो पार्टीले आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।