जनकपुर- आआफ्ना तहमा परस्पर सहयोग, समन्वय र सहकार्यमा काम गर्न/गराउन निर्देशन दिँदै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको ४ दिने प्रदेश २ स्तरीय बैठक सम्पन्न भएको छ ।
फागुन १० गतेदेखि जनकपुरधाममा आयोजित बैठकमा केन्द्रीय अध्यक्षमण्डलले प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका जिल्ला पदाधिकारीसँग छलफलपछि यस्तो निर्देशन दिएको हो।
बैठकमा राज्यमन्त्री र प्रदेश सांसदहरूले प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र समाजिक विकास मन्त्री नवलकिशोर साहको चर्को आलोचना गर्दै फिर्ता बोलाउन माग गरेका थिए। एक वर्षसम्म जनता र पार्टीका हितमा काम नगरेकाले राय र साहलाई मन्त्री पदबाट हटाउन नेताकार्यकर्ताहरूले माग गरेका हुन्।
चार दिनसम्म चलेको सो बैठकमा पार्टीका स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक नभएको भन्दै सहभागीहरूले आपत्ति जनाएका थिए।
केन्द्रीय अध्यक्षमण्डलले संघीय सांसद, प्रदेश मन्त्री तथा राज्यमन्त्री, प्रदेश सांसद, प्रदेश समन्वय समिति पदाधिकारी, जिल्ला कार्यसमिति पदाधिकारी, जिसस प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुखद्वारा भइरहेको कामकारबाहीबारे छुट्टाछुट्टै बैठकमा जानकारी लिएको थियो।
बैठकमा केन्द्रीय नेतृत्वको भूमिकाप्रति समेत सहभागीहरूले असन्तोष प्रकट गरेका थिए। प्रदेश १, ५ र ७ को बैठक सम्पन्न भएपछि प्रदेश २ का बैठकमा उठेका सबै कुरा समेटेर केन्द्रीय अध्यक्षमण्डले निचोड सार्वजनिक गर्ने राजपा नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

प्रदेश १ को बैठक विराटनगरमा फागुन १४ गते, प्रदेश ५ को बैठक भैरहवा, दांग, बांके र बर्दियामा १६ गते र प्रदेश ७ को बैठक नेपालगन्जमा फागुन १७ गते आयोजना गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।