काठमाडौं- नयाँ शक्ति पार्टीको रसुवा जिल्ला समिति नेपाली कांग्रेसमा विलय भएको दाबी कांग्रेसले गरेको छ।
नयाँ शक्तिका जिल्ला संयोजक फुर्वा वाङ्दी तामाङको नेतृत्वमा पार्टी कार्य समिति कांग्रेसमा विलय भएको बताइएको हो। नयाँ शक्तिका नेता तथा कार्यकर्ता भित्राउन कांग्रेसका शीर्ष तहका नेताहरु रसुवा पुगेका थिए।
पार्टीलाई नै कांग्रेसमा समाहित गर्ने भएसँगै कांग्रेसले कार्यक्रमलाई विशेष महत्व दिएर शीर्ष नेताहरु रसुवा पुगे। पार्टी सभापति सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले प्रवेशीहरूलाई स्वागत गरेका थिए।

रसुवा (ख) बाट प्रदेश ३ मा प्रदेश सभामा निर्वाचित तामाङलाई कांग्रेसले पार्टीमा भित्र्याउन नेताहरु रसुवा पुगेका थिए।
तर प्रदेशसभा सदस्य प्रेम तामाङ भने कांग्रेस प्रवेश नगरेको बताइएको छ। प्रदेश सांसद तामाङ र आमा छोदिङमा गाउँपालिका प्रमुख बुचुङ तामाङ नयाँ शक्तिको तर्फबाट जनप्रतिनिधि रहेको र काँग्रेस प्रवेश गर्दा कानुनी रुपमा अप्ठेरो पर्ने भन्दै उनीहरु कांग्रेस प्रवेश गरेनन्।
सोमबार कालिकास्थानमा आयोजना गरिएको कार्यक्रममा नयाँ शक्ति पाटी रसुवाका वार्ता समिति संयोजक फुर्पू वाङदी तामाङले नेपाली काग्रेसका जिल्ला सभापति पेम्वा छिरिङ तामाङलाई नयाँ शक्तिको झण्डा दिएर पार्टी एकताको घोषणा गरे। तामाङले झण्डा दिएर एकताको घोषणा गरेपनि कतिजना कांग्रसमा प्रवेश गरे भन्ने एकिन नभएको बताए।

गत निर्वाचनमा रसुवा जिल्लामा नेपाली कांग्रेस र नयाँ शक्तिपार्टीले चुनावी गठबन्धन गरेका थिए।
(यसअघि प्रकाशित समाचारमा अन्यथा पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।